काठमाडौं । समानुपातिकको सुची हेरफेर गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित पदाधिकारीहरु छलफलमा जुटेका छन्। समानुपातिक उम्मेदवार सूची संशोधन र सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे भइरहेका उपलब्धिबारे छलफल भएको हो।
पार्टीले निर्वाचन आयोगमा असोज ३ गते बुझाएको प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फको उम्मेदवारको सूची संशोधन गर्नेलगायत विभिन्न विषयमा उनीहरूबीच छलफल भएको हो। संस्थापनइतर समूहका नेताहरूले समानुपातिक उम्मेदवारको सूची असोज १४ भित्र सच्याउन माग गर्दै आन्दोलनका कार्यक्रम नै गर्ने भएपछि सभापति देउवा दबावमा छन्।
शेखर कोइराला पक्षलाई समानुपातिक सूचीमा ४० प्रतिशत भाग नदिएको आरोप छ। ११० जनाको नाम प्रतिनिधि सभातर्फ समानुपातिकमा बुझाउँदा कोइराला पक्षका १४ जनाको नाम मात्रै समावेश छ। कम्तीमा ३० देखि ४० प्रतिशत संस्थापनइतरलाई समावेश गर्न माग गर्दै आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट पक्षले धर्ना दिँदैछन्।
सभापति देउवाले मंगलबार समानुपातिक उम्मेदवार सूची संशोधन गर्न तयार रहेको बताएका थिए। मंगलबार नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका असन्तुष्टिलाई सम्बोधन गरेर जान सभापति देउवालाई आग्रह गरेका थिए।