काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले मंसिर ४ गते हुने प्रतिनिधी सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् ।
दाङ १ बाट एमालेको उम्मेदवार बन्न चाहेकी चौधरीले एमालेले आफूलाई नभई अरुलाई नै टिकट दिने सुईको पाएपछि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् । एमालेले सो क्षेत्रमा अर्की एमाले नेतृ शान्ता चौधरीलाई टिकट दिने निर्णय गरेको छ ।
केही दिन अघि गंगा चौधरीले फेसवुकमै आफ्नो र शान्ता चौधरीको फोटो राख्दै ‘हामी दुई दिदीबहिनी मध्य जस्ले टिकट पाएपनि मिलेर एक भएर जानेछौं ।’ भनेर स्टाटस पोष्ट गरेकी गंगा टिकट तिनै शान्ताले पाउनासाथ स्वन्तन्त्र चुनाव लड्छु भनेर शुक्रवार फेसबुकमा पोष्ट गरेकी छन् ।
त्यसो त एमाले वृतमा गंगाको छबि त्यति राम्रो छैन सत्ता र पदका लागी राजनैतिक आदर्श मुल्य मान्यता सबैलाई तिलान्जली दिने नेतृको रुपमा उनी चिनिन्छन।
०७४ सालको निर्वाचनको समयमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र एमाले दुवैबाट समानुपातिक सूचीमा आफ्नो नाम पठाउन सफल गंगा लामो समय काम गरेका कयौँ नेतृहरु ‘रिङ आउट’ गर्दै नयाँ शक्तिबाट नाम फिर्ता लिएर एमालेबाट सांसद बनेकी थिइन्।
एमालेबाट सांसद बनेपछि पनि उनको मन स्थिर हन सकेन ।
मन्त्री पद खानको लागी तत्कालीन नेकपा फुटको बेला प्रचण्ड माधवसंग विद्रोह गर्दै सडक संघर्षमा सहभागी भएकी गंगालाई गठबन्धनले मन्त्री पद नदिने भएपछी लुरुक्क एमाले फर्किएको चर्चा एमाले वृतमा राम्रै हुने गरेको थियो ।
पार्टी परित्याग र प्रवेशको लामो इतिहास भएकी गंगा थरुहट तराई पार्टी नेपालले केन्द्रीय उपाध्यक्ष एवं व्यस्थापिका संसदकी सदस्य रहेकै बेला उनलाई अनुशासन उलंघन गरेको भनेर सो पार्टीले साधारण सदस्य नरहने गरी निष्काशन गरेको थियो।
व्यवस्थापिका संसद्, विधायन समितिका सभापति समेत बनेकी उनी थरुहटबाट निष्काशित भएपछि नयाँ शक्ति हुँदै ०७४ सालमा एमाले प्रवेश गरेकी हुन् ।
५ वर्ष एमालेबाट सांसद बनेकी चौधरी अब पदको लागी स्वन्तन्त्र चुनाव लड्ने घोषणा गरेपछि पदको लोभी भनेर उनको चर्को आलोचना भएको छ ।