logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेपाल सरकारका अनुसन्धान गर्ने निकायहरुलाई निर्वाचन आयोगको आग्रह

    नेपाल सरकारका अनुसन्धान गर्ने निकायहरुलाई निर्वाचन आयोगको आग्रह

    2.2K
    Shares

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा मनोनयन दर्ता गरेका व्यक्तिहरुमाथि उजुरी दर्ता भएको वा अनुसन्धानका क्रममा रहेका व्यक्तिहरु भए निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकारीको कार्यालयलाई जानकारी गराउन नेपाल सरकारका अनुसन्धान गर्ने निकायहरुलाई जानकारी दिन आग्रह गरेको छ ।

    आयोगले निर्वाचन आयोगसँग एकीकृत किसिमको डाटा प्रणाली नरहेकाले निर्वाचमा अयोग्य व्यक्तिको उम्मेदवारी नपरोस् भन्ने मनशायले निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन नेपाल सरकारका अनुसन्धान गर्ने निकायहरुलाई आग्रह गरेको हो । उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले अयोग्य व्यक्तिको उम्मेदवारी परेको खण्डमा समयमा नै निर्वाचन आयोग वा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउन आग्रह गरे । उनले नेपालमा अनुसन्धान गर्ने निकायहरु नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पती शुद्धिकरण लगायतका निकायहरुले उक्त उम्मेदवार विरुद्ध मुद्दा परेर अनुसन्धान भइरहेको बारेमा जानकारी गराए आयोगले सक्रिय रुपमा त्यसको छानबिन गरी अयोग्य ठहरिएमा कानूनतः कारबाही गर्ने बताए ।

    उपन्यायाधिवक्ता वाग्लेले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र प्रदेश सभा सदस्य निर्वाचन ऐनमा उम्मेदवारी दिने उम्मेदवारको योग्यता र अयोग्यताको बारेमा स्पष्ट कानूनी व्यवस्था रहेको उल्लेख गरे । उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन निर्देशिकामा पनि उम्मेदवारको योग्यताको बारेमा स्पष्ट व्यवस्था रहेको उल्लेख गरे । उम्मेदवार हुने कुनैपनि उम्मेदवारले म कुन पदमा उम्मेदवारी दिँदैछु र त्यो पदमा उम्मेदवारी दिन म योग्य छु कि छैन भनेर स्वःघोषणा आफैँले गर्नुपर्ने बताए ।

    स्वःघोषणामा उम्मेदवारी दिने कोहीपनि उम्मेदवारले पछि गएर अयोग्य प्रमाणित भएमा व्यक्ति आफै पूर्णतः जिम्मेवार रहने उनको भनाई छ । उपन्यायाधिवक्ता वाग्लेले प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएको कुनैपनि व्यक्ति अयोग्य छ भने त्यही पदमा उम्मेदवारी दिने अर्को व्यक्तिले यथेष्ट प्रमाणसहित उजुरी दिएपछि उजुरी सत्य ठहरिए उम्मेदवारी बदर हुने स्पष्ट पारे ।

    प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा भाग लिने उम्मेदवारले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ बमोजिम स्वःघोषणा गर्नुपर्ने व्यवस्था छ । स्वःघोषणा प्रत्येक उम्मेदवारले आफ्नो मनोनयन पत्र साथ पेस गर्नुपर्ने भएकाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि असोज २३ गते बिहान १० बजेदेखि अपरान्ह ६ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्नेछ ।

    मनोनयन दर्ता गर्नु अगावै स्पष्ट भइ स्वःघोषणापत्रमा दस्तखत गर्नुपर्नेछ । नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, पच्चीस वर्ष उमेर पूरा भएको नेपाली नागरिक भएको, प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेशसभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै सङ्घीय कानूनले अयोग्य नभएको, नेपाल सरकार, प्रदेश सरकार वा स्थानिय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानिय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ग), (घ), (ङ), (च), (छ), (ज), (झ) र (ञ)÷ प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ग), (घ), (ङ), (च), (छ), (ज), (झ) र (ञ) बमोजिमको अयोग्यता नभएको, निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (३) बमोजिम कारबाही नभएको, प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको लागि कुनै दलको बन्दसूचीमा नाम नरहेको, प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि अन्य कुनैपनि निर्वाचन क्षेत्रमा उम्मेदवारको लागि मनोनयन पत्र पेस नगरेको, कुनैपनि सरकारी निकायलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, सरकारी पेस्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको, संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमति पत्र (डिभी÷पीआर) नलिएको, न्यायिक वा अर्धन्यायिक निकायबाट लागेको कैद सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको, प्रचलित कानून बमोजिम कुनै सरकारी निकायलाई बुझाउनुपर्ने कर, राजश्व, शुल्क, दस्तुर तिर्न बुझाउन बाँकी नरहेको, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिवद्ध रहेको, नेपालको संविधान, कानून र निर्वाचन ऐन, नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिवद्ध रहेको, म उम्मेदवार भएको पदमा निर्वाचित भएको अवस्थामा मैले मनोनयन पत्र साथ सिलबन्दी रूपमा पेस गरेको सम्पती विवरण निर्वाचन आयोगबाट सार्वजनिक गर्न मेरो मञ्जुरी छ भन्नेकुरा उम्मेदवारले स्वःघोषणा गर्नुपर्नेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend