काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका छन् । भक्तपुरको प्रतिनिधि सभा २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।
बाजागाजासहित कार्यकर्ताको भीडलाई लिएर नेता बस्नेतले उम्मेदवारी दिए ।
अघिल्लो निर्वाचनमा पनि विजयी बनेका बस्नेत यो निर्वाचनमा सत्ता गठबन्धन विरुद्ध प्रतिस्पर्धामा छन् । उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बस्नेतले राष्ट्रिय राजनीतीमा नेकपा एमाले आएपछि मात्रै भक्तपुरको आवाज संसदमा मुखरित भएको बताए ।
उनले आगामी निर्वाचनमा विजयी बनेसँगै भक्तपुरमा औद्योगिकरणका साथै नयाँ शहर निर्माणको काम गर्ने र रोजगारी सिर्जना गर्ने काम आफ्नो लक्ष्य रहेको बताए । उनले सांस्कृतिक सम्पदाको पुनः निर्माण र निरन्तरता दिने उद्देश्य रहेको समेत सुनाए ।
नेता बस्नेतले गठबन्धन जनताकोबीचमा अलोकप्रिय र आलोचित भइरहेको बताए । उनले आगामी निर्वाचनमा प्रतिपक्षी काँग्रेसको भन्दा तेब्बर मतान्तरले आफू विजयी बन्ने दाबी गरे ।