काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट उम्मेदवारी दिएका सत्तारुढ गठबन्धनका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च जाने तयारी गरेका छन् ।
बैंकिङ कसुर देखाएर गुरुङको उम्मेदवारी खारेज गरिएको भएपनि कसुर देखाइएको कम्पनी राजु गुरुङको मात्र नभएर शेयर सदस्य मात्र भएको बताइएको छ । निर्वाचन आयोगले राजनीतिक पूर्वाग्रह राखेर उम्मेदवारी खारेज गरेकोले यसको विकल्पमा सर्वोच्च जाने तयारी भएको हो ।
निर्वाचन कार्यालय रुपन्देहीका सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राति ११ बजे सूचना जारी गर्दै गुरुङको उम्मेदवारी खारेज भएको जनाकारी गराएका थिए ।
गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको थियो ।