काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीको २० औं राष्ट्रिय महाधिवेशन चीनको राजधानी बेइजिङमा सुरु भएको छ । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा पार्टी महासचिव सी जिनपिङले महाधिवेशनको उदघाटन गरे । आगामी पाँच वर्षका लागि पार्टीको नेतृत्व र राजनीतिक कार्यदिशा पारित गर्ने सीपीसीको महाधिवेशन हरेक पाँच वर्षमा एकपटक आयोजना हुन्छ ।
विश्वको उयदीमान शक्ति राष्ट्र चीनमा सरकारभन्दा माथि हुने कम्युनिस्ट पार्टी र त्यसको नेतृत्व सबभन्दा शक्तिशाली मानिन्छ । त्यसलाई निर्वाचित गर्नका लागि गरिने महाधिवेशन सीपीसीको सर्वोच्च अंगका रूपमा विधानमा व्यवस्था गरिएको छ ।
सीपीसीले यो महाधिवेशनबाट पार्टी महासचिव सी जिनपिङबाहेक अन्य नेतृत्वलाई परिवर्तन गर्ने विश्लेषण गरिएको छ । आइतबार बिहान १० बजेबाट सुरु महाधिवेशनलाई महासचिव सीले सम्बोधन गरेका छन् ।
उनले गएका पाँच वर्षमा प्राप्त उपलब्धि र आउने पाँच वर्षको कार्यदिशाबारे पार्टी प्रतिनिधि समक्ष व्याख्या गरेका छन् । करिब २३०० पार्टी प्रतिनिधि सहभागी यस महाधिवेशनले ३७० जनाको केन्द्रीय समिति चयन गर्नेछ ।
जसमा २५ जना पोलिटब्यूरो सदस्य र त्यसमध्य ७ जना पोलिटब्यूरो स्थायी समिति सदस्य चुनिने छन् । चिनियाँ सरकारी सञ्चार माध्यमहरूका अनुसार महाधिवेशनमा पार्टीका पूर्वसर्वोच्च नेताहरूसमेत उपस्थित छन् ।