काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको देशको प्रमुख एजेण्डा विकास निर्माण र समृद्धि हुने दाबी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित काठमाडौं क्षेत्र नं.२ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरुको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गरे । अध्यक्ष दाहालले आर्थीक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भुमरिमा फस्ने दाबी गरे । उनले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवारहरुदलाई जिताएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्ने अवसर प्रदान गर्न मतदाताहरुलाई आग्रह गरे ।
अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित माओवादी र सरकारसँगको शान्ति सम्झौताका बेलामा नेकपा एमालेको नेतृत्व ओलीले गरेको भए देशमा संघीय लोकतन्त्र नआउने र माओवादीसँग भएको १२ बुँदे सम्झौता हुन नसक्ने दाबी गरे । उनले नेकपा एमाले अध्यक्ष ओलीलाई जालझेल गरेर नेतृत्वमा पुगेको आरोप पनि लगाए ।
प्रचण्डले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र धेरै पहिलाबाट नै हँसिया हतौडा र रुखलाई एक बनाइसकेको भन्दै आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताए काठमाडौं, निर्वाचन क्षेत्र नम्बर २ बाट एउटा विकासे मन्त्री बनाउने प्रतिवद्धता जनाए ।
अध्यक्ष दाहालले आगामी निर्वाचनमा निर्वाचन चिह्नलाई लिएर आग्रह, पूर्वाग्रह हुने गरेको भन्दै कोही नअल्मिलइकन गठबन्धनका उम्मेदवारहरु जिताउन मतदान गर्न समेत आह्वान गरे ।