काठमाडौँ । हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन्। उनले अभिनय गरेको फिल्म ‘महापुरूष’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरेका हुन् । कलाकार श्रेष्ठले भने- ‘मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु ।’ महापुरुष नेपाली चलचित्र भाइटिकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ ।
उनी पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको बताउँछन् । यद्यपि उनले महसञ्चारबाट बनेका भिडियो सामग्रीमा सकेको समय काम गरिरहेका छन् । पत्रकार सम्मेलनमा हास्यकलाकार एवम् अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको इच्छाशक्तिको चर्चा गरेका थिए । अभिनेता आचार्यले भने- ‘मदन दाइलाई पर्दामा सँगै पाउँदा छुट्टै ऊर्जा प्राप्त हुन्छ । यसअगाडिका फिल्महरू झैँ यसमा पनि उहाँ जोडिँदा धन्य भएको छु ।’
फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गरेका छन् ।