काठमाडौं । नेवाः समुदायको भावनामाथि चोट पुर्याएको अभियोगमा पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई जिल्ला अदालत काठमाडौंले साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवा: समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए ।
जिल्ला अदालत, काठमाडौंमा बयान दिँदै उनले १० भदौ २०७९ मा नेवाःको परम्परा शीर्षकमा युट्युब भिडियो अपलोड गरेको बताएका थिए । तर भिडियोको विषयलाई लिएर सामाजिक सञ्जाल मार्फत विरोध भएपछि भोलिपल्ट नै युट्युबबाट हराएको उनले न्यायाधीश समक्ष बताएका छन् ।
उनले सरकारी वकिलसँगको बयानमा भनेका छन् ‘भिडियो मार्फत मैले नेवार समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, प्रथा, रीतिस्थिति, रहन सहन समेतको विषयलाई लिएर अमानवीय व्यवहार, जातीय सद्भाव तथा सम्प्रदाय खल्बल्याएर जातीय द्वेष, रिस, आवेग तथा उत्तेजना फैलाउने कार्य गरेको छैन । मैले नेवार समुदायको भाषा, धर्म, संस्कृति, परम्परा समेतको विषयलाई लिएर अमानवीय व्यवहार, जातीय सद्भाव तथा सम्प्रदाय खल्बल्याएर द्वेष फैलाउने गरी ती शब्दहरु प्रयोग गरेको होइन ।’
उनले ती शब्दहरु मनोरञ्जनका लागि मात्रै प्रयोग गरेको भनेका छन् । अपूर्वले भिडियोमा नेवाः समुदायको भाषा, संस्कृति, परम्परा, रहनसहन समेतलाई अमानवीय व्यवहार गरेको भन्दै पृथविन्द महर्जन सहित ११ जनाले जिल्ला प्रहरी परिसर, काठमाडौंमा संयुक्त निवेदन दिएका थिए ।