logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • शर्तसहित आजदेखि सुरु भयो प्याराग्लाइडिङ उडान

    शर्तसहित आजदेखि सुरु भयो प्याराग्लाइडिङ उडान

    2K
    Shares

    पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि पुनः सुचारु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको छ । प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उपप्रवन्धक विनय गिरीले जानकारी दिए ।

    प्राधिकरणले तोकेको उडान क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक, कम्पनी र पाइलटको नाम स्पष्ट हुनुपर्ने शर्त राखेको छ ।

    त्यस्तै, प्राधिकरणले व्यवसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ‘एयर वर्दिनेस इन्सपेक्टर’ को रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने उल्लेख गरेको छ । प्राधिकरणले पाइलटको रिफ्रेसर एडभान्स टेन्डम तथा आपतकालीन अवस्थामा उद्धार गर्न प्रयोगात्मक तालिम वर्षको एकपटक गर्नैपर्ने शर्त राखेको छ ।

    असोज ३० गते नवौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ ‘क्रसकन्ट्री’ प्रतियोगिताका क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका खेलाडी २५ वर्षीय निसिम थापाको मृत्यु भएको थियो । यो दुर्घटनापछि तत्कालै बसेको प्राधिकरणको बैठकले देशैभरि प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि स्थगन गरेको थियो ।

    दुर्घटनापछि प्याराग्लाइडिङ उडानलाई नियमित, सुरक्षित र व्यवस्थित बनाउन कात्तिक २ गते प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेयको संयोजकत्वमा कमिटी गठन गरिएको थियो ।

    उक्त कमिटीले विभिन्न शर्तसहित प्याराग्लाइडिङ खुला गर्न कात्तिक ४ गते प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा १५ दिनभित्र शर्त कार्यान्वयन गरी आइतबारबाट उडान खुला गरिएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend