logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी र आर्मी विजयी

    प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी र आर्मी विजयी

    2K
    Shares
    प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी र आर्मी विजयी

    काठमाडौं । प्रदेश १ माथि आईतवार ३९ रनको जित निकालेको लुम्बिनी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा पुग्ने सम्भावना जीवितै राखेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा समूह ‘बी’ को चौथो खेलसँगै लुम्बिनी सेमिफाइनल प्रवेशका लागि अन्य टोलीको नतिजामा भर पर्ने पक्का भएको हो ।

    लुम्बिनीको समूह ‘बी’ मा चार खेलबाट चार अंक रहेको छ र तेस्रो स्थानमा छ । दुई खेल कम खेलेको मधेस प्रदेश चार अंकसहित दोस्रो स्थानमा छ । यस समूहबाट अन्तिम चारमा मधेसको बलियो सम्भावना रहेको छ । उसले बाँकी खेल जिते सिधै सेमिफाइनलमा पुग्नेछ । चार खेलबाट दुई अंक जोडेको प्रदेश १ र बिना अंक तालिकाको पुछारमा रहेको वागमती प्रदेश भने समूह चरणबाट बाहिरिसकेका छन् । तीनखेलबाट सत प्रतिशत जितसहित नेपाल पुलिस क्लव एक खेल अघि नै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

    लुम्बिनी प्रदेशले दिएको २ समय ९१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ५१ रनमा समेटियो । जवाफी ब्याटिङ गरेको प्रदेश १ का लागि दुई खेलाडीले अर्धशतकीय इनिङ खेलपनि टोलीको हार टार्न सकेनन् । कप्तान सिद्धान्त लोहनीले ६० बलमा १० चौका र दुई छक्का मद्दतमा सर्वाधिक ७४ रन बनाउँदा ओपनर अंकित सुवेदीले ४८ बलमा १० चौकासहित ५२ रनको पारी खेलेका थिए ।

    यसैगरी निरज मुखियाले ३७ बलमा ४६ रन जोडे । सोनु मण्डल २०,श्रवण यादव १५ र फिर्दोस अन्सारीले १६ रनको योगदान गरेका थिए । ओपनर निरज र अंकितले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । बलिङतर्फ लुम्बिनीका दुर्गेश गुप्ता, बसिर अहमद र देव खनालले समान दुई विकेट लिए । यस्तै, नरेश नेपाली, अनिल खरेल र तुलबहादुर थापाले समान एक विकेट हात पारे ।

    यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले पूरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा २ सय ९० रन बनाएको थियो । लुम्बिनीका कप्तान देवले ९८ बलमा ११ चौका मद्दतमा ८९ रन बनाएका थिए । आकाश त्रिपाठीले ४५ रन जोड्दा सन्दीप रिजालले ४४, विशाल विक्रम केसीले ३२ तथा कृष्ण कार्कीले ३१ रनको व्यक्तिगत स्कोर गरेका थिए । बलिङतर्फ दीपक जोशीले सर्वाधिक ४ विकेट निकाल्दा श्रवण यादवले २ तथा लुभ कामतले १ विकेट हात पारेका थिए ।

    यस्तै आईतवार मुलापानी मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले गण्डकी प्रदेशमाथि ६९ रनको जित निकालेको छ । समूह तालिकामा एक स्थानमाथि रहेको गण्डकीलाई हराउने क्रममा आर्मीका सुशन भारीको ५ विकेटको सहयोगमा आर्मीले सहज जित निकालेको हो । यस जितसँगै आर्मीले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल सम्भावना कायमै राखेको छ ।

    ४७.४ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३३.२ ओभरमा मात्र ९६ रन जोड्न सक्यो । जवाफी ब्याटिङ गरेको गण्डकीका लागि ओपनर समिर कडेलले ३९ रन जोड्दा अर्जुन कुमालले १४ रनको योगदान गरे । कप्तान विपिन खत्रीले १९ रन जोडे । कुनै समय ४१–१ को स्थितीमा रहेको गण्डकीले थप ५५ रन जोड्दा बाँकी ९ विकेट गुमाउँदै आर्मीलाई अंक सुम्पिएको हो ।

    यस क्रममा मध्य क्रमका ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्न सकेनन् । गण्डकीलाई न्युन स्कोरमा सिमित गर्न आर्मीका सुशनले ९ ओभरभमा १४ रन खर्चंदै ५ विकेट लिए । उनी म्यान अफ दि म्याच पनि घोषित भए । उनका अलावा सहाब आलम र कुशल मल्लले समान २ विकेट लिए । यस जितपछि समूह ए मा आर्मीको ३ खेलमा ४ अंक छ भने दोस्रो स्थानको गण्डकीको ४ खेलमा ५ अंक छ । शीर्ष स्थानको एपिएफएको ४ खेलमा ७ अंक छ । एपिएफ समूह ए बाट सेमिफाइनल प्रवेश गरिसकेको छ ।

    यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीका लागि कप्तान विनोद भण्डारीले अर्धशतकीय पारी खेलेका थिए । ५४ रन जोड्ने क्रममा विनोदले ७९ बलमा चार चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै कुशल मल्लले ४५ बलमा ३९ रनको योगदान गर्दा ओपनर अनिल मण्डलले २६ र अर्जुन साउदले १३ रनको योगदान गरे । अर्जुन र अनिलको जोडीले आर्मीलाई पहिलो विकेटको लागि ४३ रनको साझेदारी गरेका थिए ।

    यसबाहेक भीम सार्की र विनोदले ७९ रनको साझेदारी गरेका थिए । अन्य खेलाडीले भने सम्झन लायक प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ गण्डकी प्रदेशका विपिन खत्रीले सर्वाधिक चार विकेट लिए । १० ओभर बलिङ गरेका विपिनले दुई मेडन ओभर राख्दै २३ रन खर्चिएका थिए । यसैगरी कमल परियारले दुई विकेट निकाल्दा अमित गुरुङ, सुवास भण्डारीले समान एक÷एक विकेट हात पारे ।

    प्रतियोगितामा सोमवार पनि दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा वागमती प्रदेश र मधेस प्रदेश तथा मुलपानी मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend