काठमाडौं । तान्जानियामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौं यात्रुसहितको प्रेसिजन एयरको उडान लेक भिक्टोरियामा डुबेको जानकारी दिए ।
‘यस दुर्घटनामा ज्यान गुमाएका १९ जनाको शोकमा सबै तान्जानियावासीहरू तपाईंसँग छन्,’माजालिवाले बुकोबा एयरपोर्टमा पुगेपछि त्यहाँ जम्मा भएका भीडलाई उनले भनेका छन् ।
विमान यात्रामा रहेका ४३ यात्रु मध्ये २४ जना बाँच्न सफल रहेका र बाँचेकाहरूलाई लेकसाइड शहरको अस्पतालमा लगिएको बताइएको छ ।
अस्पतालमा भर्ना भएका बिरामीहरु मध्ये दुई जना विमानमा सवार नरहेका पनि रहेको एयरलाइन अधिकारीले जानकारी दिएका छन् । स्थानीय मिडियामा प्रसारित भिडियो फुटेजले विमान ठूलो मात्रामा डुबेको देखाएको छ, जसमा माछा मार्नेहरूलगायत उद्धारकर्ताहरूले मानिसहरूलाई सुरक्षित स्थानमा ल्याउन पानीमा हिंडिरहेका थिए ।
आकस्मिक कामदारहरूले डोरी प्रयोग गरेर विमानलाई पानीबाट बाहिर निकाल्ने प्रयास गर्दै थिए । क्रेनको सहयोगमा बासिन्दाहरूले पनि मद्दत गर्न खोजेका थिए ।