विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । उनी ५६ वर्षका थिए । केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन भएको हो ।
विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिए ।
मोरङ क्षेत्र नम्बर ३(१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए ।
पथरी शनिश्चरे–८ स्थायी घर भएका थापा लामो समय यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको भूमिकामा थिए । उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा मोरङको सोही क्षेत्रबाट लडेका उनी तत्कालीन एमाले नेता चण्डी राईसँग पराजित भएका थिए । ०७४ सालमा काँग्रेसबाट उनी प्रदेशसभामा समानुपातिक कोटाबाट आएका सांसद बनेका थिए । प्रत्यक्ष निर्वाचन लडेर चुनाव जित्ने उनको इच्छा थियो । सोही अनुसार यसपटक मोरङ ३ (क)बाट उम्मेदवारी दिएका थापाको इच्छा भने पूरा हुन सकेन ।