गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ को निर्वाचन परिवर्तन पक्षधर र विरोधीबीचको लडाईं जस्तै रहेको बताएका छन् । बिहीबार गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘परिवर्तनका पक्षधर र विरोधीको लडाईजस्तो हुँदैछ मंसिर ४ गतेको निर्वाचन । परिवर्तनको पक्षमा हामी छौं भने हिजोका राजामहाराजालाई पुर्नस्थापित गर्नुपर्छ भन्ने अर्को गठबन्धन छ । त्यसैले सम्मृद्धिको हितमा रहेको हाम्रो गठबन्धनलाई जनताले अत्याधिक विजयी गराउन जरुरी छ’ ।
उनले संविधान मिचेर लोकतन्त्रको हत्या गर्ने प्रयास भएपनि त्यसलाई आफूहरूले असफल पारिदिएको बताए । ‘नेपालमा यदि त्यो सफल भएको भए देश फेरि आन्दोलन र अराजकतामा जान्थ्यो, यद्यपि त्यसलाई हामीले परास्त गर्यौ र स्थानीय हुँदै यो निर्वाचनसम्म आएका छौ’, गोरखा २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका प्रचण्डले गठबन्धन नारा नै सम्बृद्धि र विकास भएको बताए ।