logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भौतिक उपस्थितिमा आचारसंहीता उल्लंघन कम, सामाजिक सञ्जालमा बढी

    चुनावी प्रचारमा हेलिकप्टरको प्रयोगमा गम्भीर बन्न गृहमन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन

    चुनावी प्रचारमा हेलिकप्टरको प्रयोगमा गम्भीर बन्न गृहमन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन

    1.8K
    Shares
    चुनावी प्रचारमा हेलिकप्टरको प्रयोगमा गम्भीर बन्न गृहमन्त्रालयलाई निर्वाचन आयोगको निर्देशन

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारमा हेलिकप्टरको प्रयोगको विषयलाई लिएर गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका छन् । आईतवार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहीता कार्यान्वयन सम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथि छलफल गर्दै उनले हेलिकप्टरको प्रयोगको विषयमा गृह मन्त्रालय संवेदनशील बन्नुपर्ने बताएका हुन् ।

    उनले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गर्ने गरेको उजुरी आएकाले त्यसतर्फ संवेदनशील बनेर काम गर्न गृह मन्त्रालयलाई निर्देशन दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगमा बिरामीको नाटक गरी चुनावी प्रचारप्रसार गरेका दुईवटा उजुरी आएकाले आयोग कारबाहीको लागि अग्रसर रहेको बताए । उनले निर्वाचन आचारसंहीतामा ७२ घण्टा हेलिकप्टर उडाउन पाउने उल्लेख गरेका कारण संखुवासभामा चुनावी प्रचारमा समय गनेर नै ७२ घण्टामा विभिन्न १० ठाउँमा चुनावी प्रचारप्रसार गरेको पाइएकाले गृह मन्त्रालय गम्भीर बन्नुपर्ने देखिएको बताए ।

    उनले भने, ‘गृहको सन्दर्भमा हेलिकप्टरको प्रयोगको विषयमा अलिकति संवेदनशील हुनुपर्ने देखियो । अरु कामका लागि हेलिकप्टर प्रयोग नगर, सुत्केरी लिन जानुपर्ने होला, बिरामी बनाउनुपर्ने होला, ल्याउनुपर्ने होला, राज्यको कामसँग रिलेटेट कामहरु होला । तर हुँदै नभएको बिरामी लिएर उडेको भन्ने दुई वटा इस्यु आए । हिजो पनि आयो, संखुवासभाको केस पनि मनाङको केस पनि । यो त गम्भीर हो । यसमा हामी भोलि एक्शनमा जानुपर्छ । एक्शनमा जाँदा फेरि कतै सिडिओ, त्यहाँको एसपी साबतिर तेर्सिने हो की ? डिएसपी साबतिर तेर्सिने हो की ? हेर्ने काम त उहाँहरुको हो । त्यसैले यसलाई कस्तोमा पाउने, कस्तोमा नपाउने ? ७२ घण्टासम्म उडाउन पाउने भनेर लेखिदिएको हुन्छ, संखुवासभामा घण्टा हेरेर बसेछ, ७२ घण्टामा १० ठाउँ हेलिकप्टर लिएर गयो । त्यसको ठूलो उजुरी आइरहेको छ । यस्ता कुरामा गम्भीर बनिदिनुहोस् ।’

    प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न निर्वाचनमा हालसम्म भौतिक उपस्थिति सहितको आचारसंहीता उल्लंघन कम रहेपनि सामाजिक सञ्जालमा भने निर्वाचन आचारसंहीता बढेको बताए । उनले सामाजिक सञ्जालबाट आचारसंहीता उल्लंघन गर्नेहरुलाई कारबाही गरिरहेको भन्दै सामाजिक सञ्जालको प्रयोग गर्दा संवेनशील बन्न सबैको ध्यानाकर्षण गराए । प्रमुख निर्वाचन आयुक्त थपलियाले मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढंगले प्रभावित हुने स्थिति देखिएको भन्दै आचारसंहीताका सन्दर्भमा अरुलाई लक्षित गरेर कुरा गर्न, चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने गतिविधि नगर्न सचेत गराए । उनले यस पटकको निर्वाचनमा धेरैजसो आचारसंहीता उल्लंघनका घटना टिकटकबाट भइरहेको बताए ।

    उनले भने, ‘अहिले भौतिक उपस्थिति सहितको आचारसंहीता उल्लंघन कम छ, तर अरु खाले बढ्दै गएको अवस्था छ । सामाजिक सञ्जालको विषय छ । सामाजिक सञ्जालको विषयलाई हामीले पनि सकेको कारबाही गरिरहेका नै छौँ । सामाजिक सञ्जालको यो बीचको प्रयोग अत्यन्तै संवेदनशील विषय छ । अब यो मिथ्या सूचनाबाट निर्वाचनलाई फरक ढंगले प्रभावित हुने स्थिति देखियो र अर्को आचारसंहीताका सन्दर्भमा अरुलाई लक्षित गरेर कुरा गर्न चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने खाले कुरा भन्न पाइँदैन भनेको छ हाम्रा सबै कानूनमा । ठूला नेता उभिसकेपछि अर्को नेतालाई सत्तो सरकाकप नगरीकन भाषणा नै नसिध्याउने प्रवृत्ति छ, यो आचारसंहीता भित्र पर्छ की पर्दैन । पर्छ भने कसले सोध्ने, कसैले त सोध्नुपर्ला । हामीले हाम्रा नेताहरुले पचाउनुहुन्छ, भन्ने गरेको छु, तर त्यो नसुहाउला । यस्ता किसिमका इस्युहरु युट्युब, भाइबर, फेसबुकबाट आइरहका छन्, अहिले बढी टिकटकबाट छन् ।’

    प्रमुख निर्वाचन आयुक्त थपलियाले यस पटकको निर्वाचनमा मौन अवधि नरहेकाले निर्वाचनअघिको ४८ घण्टाको समयलाई कसरी व्यवस्थित बनाउने भन्नेमा आयोगले आवश्यक कार्य गरिरहेको पनि बताए । उनले यस पटक आयोगले मौन अवधि नराखेको तर अहिले प्रचारप्रसार गर्न नपाउने अवधि भनिएकाले सो अवधिमा हुने आचारसंहीता विपरितका गतिविधि रोक्न आयोग लागिपरेको बताए । उनले नेपालमा प्रचारप्रसारमा गर्न नपाउने अवधिमा अवधिमा मित्र राष्ट्रका सञ्चारमाध्यमहरुबाट प्रचारप्रसार गर्ने गरेको पाइएको भन्दै त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चुनौती आयोगलाई रहेको बताए ।

    उनले भने, ‘४८ घण्टा अघिको अवधिलाई हामीले कसरी म्यानेज गर्ने ? हामीसँग त राजनीतिक दल र उम्मेदवारहरु झन्डै झन्डै ६ हजारको हाराहारीमा प्रत्यक्षतर्फको उम्मेदवार हुनुहुन्छ । समानुपातिक तर्फकाले त उल्लंघनमा नजानुहोला । त्यो मध्ये एक्टिभ्लिी उल्लंघन गर्नसक्ने सम्भावना भएकाहरु कति जना हुनुहुन्छ ? तल हामीले कसरी आइडेन्टिफाइ गर्ने ? सबै त नहोला, केही नभए पनि १ हजार त होलान् । ती १ हजार जना उम्मेदवारको घण्टा घण्टाको गतिविधि नियन्त्रण गर्ने अर्थात् अवलोकन गर्ने, नियमन गर्ने र के–के गरिरहेका छन् भन्ने थाहा पाउनका लागि पहिला मौन अवधि भनिएको अहिले प्रचारप्रसार गर्न नपाउने अवधि भनिएको, अहिले मौन अवधि छैन । मित्र राष्ट्रका सञ्चारमाध्यमबाट यताको प्रचारप्रसार अनि ४८ घण्टा अघि झनै प्रचारप्रसार, यता रोकिएपनि छिमेकमा गएर भन्न लगाउने, यता सुनिहाल्दो रहेछ रेडियोमा यसलाई कसरी नियन्त्रण गर्ने भन्ने देखिएको छ ।’

    प्रमुख निर्वाचन आयुक्त थपलियाले जिल्लाहरुमा आचारसंहीता उल्लंघन गर्नेमाथि कारबाही गर्न कन्जुस्याँइ भइरहेको भन्दै आयोगको निर्देशनलाई पूर्ण पलना गर्न जिल्ला निर्वाचन आचारसंहीता कार्यान्वयन समितिलाई निर्देशन दिए । उनले आचारसंहीता उल्लंघन गर्नेमाथि अनुनय गर्ने नभइ कारबाहीको प्रक्रियामा अघि बढ्न पनि निर्देशन दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहीता उल्लंघन गरेको भनि आयोगमा उजुरी परेपछि स्पष्टीकरण सोधिएका व्यक्तिहरुलाई जवाफसहितको फेहरिस्त मागेर कारबाही गर्नपर्ने बताए ।

    उनले भने, ‘जिल्ला निर्वाचन आचारसंहीता कार्यान्वयन समिति भनेर जुन हामीले बनाएका छाँै र एक जना अनुगमन कर्ता पनि तोक्यौँ । पूर्ण रुपमा उहाँलाई हामीले सेवासुविधा सबै दिएर उहाँहरुलाई आयोगले पनि भन्न त भनेको भन्यै नै छ, आयोगले साह्रो नै बोलेको छ । तैपनि सुनिरहनुभएको छैन, क्रियाशीलता कम भयो । अहिलेको आचारसंहीताको सन्दर्भमा हामीले गरेको निर्णय नै के छ भने कुनै ठाउँमा कसैले निषेधित कुरा ग¥यो भने त्यो उसैले गरेको मानि स्पष्टीकरण सोध्नु भनेको छ । किन गर्नुभयो भनेर अनुनय विनयको त कुरा नै छैन । अर्काले त गर्दैन, त्यो अनुनय गरिरहनु परेन । तपाईले आचारसंहीता उल्लंघन गरेकै हो, तपाईलाई किन कारबाही नगर्ने ? भनेर स्पष्टीकरण सोध्न सकिन्छ । तर हामीले बाहिरबाट आएका स्पष्टीकरणको सन्दर्भमा सोधियो, त्यहाँ जति सोधिन्छ, लोकल लेभलबाट, जिल्ला स्तरबाट खासै त्यता मिटिङराख्ने, निर्णय गर्ने, सम्झाइबुझाइ गर्नेतर्फ बढी गएको जस्तो देखिएको छ । यो अन्तिम चरणमा छाँै, त्यसकारण आज नै निर्णय गरेर आजबाट ती सबै निर्णयहरुले तदनुसार ठाउँको ठाउँ कारबाहीको प्रक्रिया शुरु गरौँ । त्यसले चनाखो बनाउँदो रहेछ, एउटा र अर्को कारबाहीको बाटो पनि प्रशस्त गरौँ । कारबाहीको अधिकार तल हुँदैन, कारबाही आयोगले नै गर्ने हो त्यसकारण जति स्पष्टीकरण सोधिएका छन्, त्यसको जवाफसहितको फेहरिस्त मागेर हामीले कारबाहीमा पनि जानुपर्छ । किनभने हामीलाई सधैँ आरोप के लाग्छ भने स्पष्टीकरण सोध्छ कारबाही गर्दैन, भन्ने छ, त्यसैले कारबाहीमा लागौँ ।’

    प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको कारणबाट निर्वाचन महंगो नभएको जिकिरसमेत गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend