काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभा तर्फ नेकपा एमालेका उम्मेदवार जगदिश कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा निकालेको आरोप लगाएका छन् ।
मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित् भएपछि अन्तिम समयमा आएर मतगणनानै हुन नदिएको उनको भनाई छ । सञ्चारमन्त्री कार्कीले शनिबार (हिजो) अपरान्ह धाँधली भएको भन्दै पुनः मतगणना गर्नुपर्ने माग राखेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलीय सहमती जुटाएर मतगणनाको कामलाई सुचारु गराउन आईतबार (आज बिहान) सर्वदलीय बैठक बोलाएको थियो ।
बैठकमा मन्त्री कार्कीले पुनः मतगणना हुनुपर्ने अडान राखेपछि अझै मतगणना कार्य अघि बढन सकेको छैन । एमाले उम्मेदवार कुसियतले भने बाँकि रहेको मत गणना कार्य तत्काल सुरु गर्न निर्वाचन आयोगसँग माग गरेको बताए । कुसियतले आफूहरुको सो अडान कानुनसम्मत भएको दावी गर्दै त्यसबाट पछि हटन नसकिने पनि स्पष्ट पारे ।
‘यहाँ हाम्रो भनाई के हो भने मतगणना जहाँ रोकिएको छ, त्यसलाई सुचारु गरौं । बाँकि रहेको मतगणना अविलम्ब सुरु गरौं । तर माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूको भनाई के हो भने अहिले निर्वाचन आयोगले गरेको मतगणना र उसले जुन सूचना प्रकाशित गरेको छ । त्यसलाई क्यान्सिल गरेर रिमतगणना गरांै भनेर उहाँको जिकीर हो । त्यसैमा हाम्रो डिबेट चलिराखेको छ । एमालेको कानुनसम्मत अडान हो । हामीले कानुनलाई हातमा लिन खोजेका छैनौं । एमालेले स्पष्ट के भनेको छ भने कानुनमा के भन्छ ? जो मतगणना भयो । त्यसलाई छोडौं । बाँकि रहेको मतगणना सुरु गरौं । उहाँले सायद मानसिक रुपमा हार स्विकार गरिसक्नु भएको छ । म हारिरहेको छु, त्यो हारलाई कसरी बचाउने भनेर उहाँले बखेडा झिक्नु भएको मात्रै हो ।’ कुसियतले भने ।
यता मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षका उम्मेदवारहरुबीच सहमती जुटाएर मतगणना कार्य सुचारु गराउन पहल भईरहेको जनाएको छ ।