काठमाडौं । ट्राफिक प्रहरीले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारदेखि काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा महानगरपालिकाअन्तर्गतका ८९ सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बालबालिकामा ट्राफिक सचेतना अभिवृद्धि गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । “सचेतना कक्षामा बाटोमा हिँड्दा र बाटो काट्दा ध्यान पु¥याउनुपर्ने कुरा एवं सडक सुरक्षासम्बन्धी आधारभूत कुरा जानकारी गराएका छौँ”, उनले भने।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बिहानको लाइन लगाउने समयमा ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा दिने उनको भनाइ छ । यस्तै विद्यालयको समन्वयमा थप सचेतना कक्षासमेत सञ्चालन गर्ने कार्यालयले जनाएको छ ।
ट्राफिक कार्यालयले नक्सालस्थित नन्दीरात्रि माध्यमिक विद्यालय, केन्द्रीय बहिरा माध्यमिक विद्यालय, कमल आधारभूत विद्यालय, महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय र बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा सचेतना कक्षा सञ्चालन गरेको थियो ।