भक्तपुर । घरघरमा योमरी पकाएर देशभरका नेवार समुदाय बिहीबार योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् । नेपाल भाषामा योको अर्थ मनपर्ने र मरीको अर्थ रोटी हो । यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो ।
प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन एक प्रकारको रोटी योमरी खाएर देशभरका नेवार समुदायले योमरी पुन्ही मनाउँछन् ।
चामलको पिठोबाट बनेको एक प्रकारको रोटीभित्र चाकुको झोल राखी योमरी बनाइन्छ । हिजोआज चाकुका सटा खुवालगायतका अरु खाद्य पदार्थ राखेर पनि योमरी पकाउने चलन बढेको छ ।
योमरी खाने दिन भएकाले यो पर्वका दिन नेवार समुदायका महिला आ–आफ्नो घरमा सबेरै उठेर योमरी पकाउँछन् । योमरीका साथ भोज खाँदा नियमित जस्तो खाना खाने चलन छैन । यो दिन नियमितजस्तो खाना खान नहुने विश्वास छ । त्यहीअनुसार यस दिन उनीहरू योमरीका साथ चिउरा, तरकारी, मासुलगायतका परिकारको भोज खान्छन् ।