काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छन् । आईतवार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गरेकी हुन् ।
संसदीय प्रणालीमा संख्याको खेल हुने भन्दै उनले देउवासँग सांसदहरुको धेरै संख्या रहेको बताइन् । उनले ठूलो दल पनि नेपाली काँग्रेस भएकाले प्रधानमन्त्रीमा स्वभाविक रुपमा देउवा हुने उल्लेख गरिन् । उनले पार्टीका अन्य नेताहरुले संसदीय दलको नेतामा आकांक्षा राख्नु स्वभाविक भएको बताइन् । उनले भनिन – ‘जितेर आउनुभएको छ । उहाँहरुले दाबी गर्नु स्वभाविक नै हो । तर प्रजातन्त्र र संसदीय अभ्यासमा एउटा नम्बरको खेल हुन्छ । त्यसमा आधारित हुन्छ कि को पदमा आउँछ भनेर । मलाई ज्योतिषी ज्ञान आउँदैन । प्रधानमन्त्री अहिले हेर्दा त शेरबहादुरजी नै हुनुहुन्छ जस्तो लाग्छ । ठूलो दल पनि हाम्रै छ । धेरै संख्या पनि हामीसँगै छ ।’
उनले विगतमा देउवा नेतृत्वको सरकारले धेरै परिवर्तन गरेको पनि बताइन् ।