logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • माओवादी अध्यक्ष प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त

    माओवादी अध्यक्ष प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त

    1.9K
    Shares
    माओवादी अध्यक्ष प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त

    काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

    संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्डले प्रधानमन्त्रीका रुपमा सोमबार दिउँसो ४ बजे शपथ ग्रहण गर्ने राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

    प्रतिनिधिसभाका  एक सय ६९ सांसदसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गरेका थिए । नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझसम्मको समयसीमाभित्रै अध्यक्ष दाहालले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए ।

    नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका अध्यक्ष दाहाललाई प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए । उनलाई कूल एक सय ६९ सांसदको समर्थन छ ।

    त्यसमा नेकपा एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जनता समाजवादी पार्टीको १२, जनमत पार्टीको छ, नागरिक उन्मुक्ति पार्टीका चार र अन्य तीन स्वतन्त्र सांसदको समर्थन छ ।

    राष्ट्रपति भण्डारीलाई पेश गरिएको समर्थनपत्रमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका दल नेता दाहाल, स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेका छन् ।

    यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् । यसैगरी स्वतन्त्र सांसद प्रभु साह, किरण साह र डा अमरेशकुमार सिंहले पनि समर्थन गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend