काठमाडौं । आज प्रदेश १ को प्रदेशसभाका ९३ सांसदले पद तथा गोपनियताको सपथ लिँदैछन् । जसमध्ये पाँच जनाले लिम्बुभाषामा सपथ लिने भएका हुन् ।
प्रदेश सभा सचिवालयका अनुसार ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले प्रदेश प्रमुखबाट सपथ लिने र त्यसपछि मण्डलले बाँकी ९२ सांसदलाई सपथ गराउने कार्यक्रमको तयारी पुरा भएको प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए ।
प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्य गनगाईले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्था अनुसार सोमबार दिनको साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ र प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम सपथ लिने छन् । उनले सपथ लिएपछि प्रदेश सचिवालयमा पुगेर सभामुखको कुर्सीमा बस्ने र प्रदेश सभा हलमा बाँकी सांसदहरूलाई सपथ ग्रहण गराउने छन् ।