logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • अंग्रेजी नयाँ वर्षको आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा नयाँ उत्साह

    अंग्रेजी नयाँ वर्षको आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा नयाँ उत्साह

    2.5K
    Shares
    अंग्रेजी नयाँ वर्षको आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा नयाँ उत्साह

    काठमाडौँ । नयाँ वर्ष ९सन् २०२३० को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ । कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र बिस्तारै लयको बाटोमा गएको छ ।

    पर्यटन पुनरुत्थानको दिशामा रहेको पर्यटन क्षेत्रमा नयाँ वर्षले उत्साह छाएको छ । त्यसो त, नयाँ वर्ष पर्यटन क्षेत्रका लागि उत्सवकै रुपमा लिइन्छ । यो अवसरमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्ने भएकाले व्यवसायीमा पनि सकारात्मक आशा जगाउने गरेको छ ।

    होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटन क्षेत्रमा चहलपहल र गतिविधि बढेको बताए । ‘नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटनमा चहलपहल बढेको छ । आन्तरिक पर्यटकको चाप छ । ठमेल, पोखरा, सौराहा, लुम्बिनी, भेँडेटारलगायत क्षेत्रमा ‘न्यू इअर इभ’ कार्यक्रम आयोजना गरिएको छ, यसले पर्यटनलाई थप चलायमान बनाएको छ ।’

    होटलको बुकिङ पनि उत्साहजनक रहेको उपाध्यक्ष शाहको भनाइ छ । सन् २०२२ मा २५ लाख पर्यटक धान्ने होटलको क्षमता रहेको छ । चिनियाँ पर्यटक आउने वातावरण बनेको खण्डमा विदेशी पर्यटक बढ्ने उनको विश्वास छ । सरकारी तथ्याङ्कमा मुलुकभर एक हजार एक सय होटल छन् । हानको विवरणमा सबैखाले होटल गरी चार हजार छन् ।

    ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बास्तोला पनि नयाँ वर्ष पर्यटनमा आशा जगाउने वर्ष हुने भएकाले महामारीपछिको पर्यटनलाई पुनरुत्थानको गतिमा हौसला प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । ‘नयाँ वर्षको बहारसँगै पर्यटन क्षेत्रमा यसले सकारात्मक उत्साह जगाएको छ’, उनले भने, ‘आन्तरिक मात्र हैन विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा आउने भएकाले पर्यटन व्यवसायीमा पनि हौसला बढेको छ । सन् २०२३ नेपालसहित विश्व्यापी रुपमै घुमफिर वर्ष नै हुन्छ होला ।’ पछिल्लो समय विदेशी पर्यटक आगमन दरलाई हेर्दा विदेशी पर्यटक निकै बढ्ने अनुमान गरिएको अध्यक्ष बास्तोलाले बताए ।

    नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२२ को ११ महिनामा पाँच लाख ४६ हजार तीन सय ४२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङकले देखाउँछ ।

    महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीले विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजारमा खुम्चिएको थियो । त्यसैगरी २०२१ मा एक लाख ५० हजार नौ सय पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव चार प्रतिशतले कमी हो ।

    पयर्टन बोर्डका निर्देशक मणिराज लामिछानेले मुलुकको पर्यटन बिस्तारै लयमा फर्किरहेको उल्लेख गर्दै पर्यटक आगमनको आँकडाले पर्यटन पुनरुत्थानको दिशातर्फ उन्मुख रहेको बताए । उनले सन् २०१९ मा आएका कूल पर्यटकको सङ्ख्यामा ६५ देखि ७५ प्रतिशतसम्म ‘रिकभर’ हुने अपेक्षा गरिएको बताए ।

    महामारीका कारण सन् २०२१ मा १४ प्रतिशत र सन् २०२० मा १८ प्रतिशत मात्रै पुनरुत्थान भएको पर्यटन क्षेत्र आगामी दिनमा सकारात्मक हुने अपेक्षा गरिएको उनले बताए ।

    स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ ठमेलमा नयाँ वर्षमा आयोजना हुने महोत्सवले छुट्टै रौनकता ल्याएको छ । पर्यटकीय नगरी पोखरा, चितवनको सौराहा, लुम्बिनीलगायत गन्तव्य पाहुनाले भरिभराउ छन् । पर्यटकीय नगरी चितवनको सौराहामा पनि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

    ठमेलमा सडक महोत्सव

    नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा भोलि पुस १६ गते साँझ ठमेलमा सडक महोत्सव हुन लागेको हो । परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाले थलिएको ठमेलको पर्यटन पुनरुत्थानका लागि नयाँ वर्षको अवसर पारेर सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।

    ‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ भन्ने मूल नारासाथ सडक महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेका छौँ’, उनले भने । ठमेलमा आयोजना हुन लागेको सडक महोत्सवमा एक लाख व्यक्तिको सहभागिता रहने परिषद्ले जनाएको छ ।

    पोखरा सडक महोत्सव

    यही अवसरमा पर्यटकीय नगरी पोखरामा सडक महोत्सव चलिरहेको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ यही पुस १३ देखि १७ गतेसम्म महोत्सव आयोजना हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend