logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपालको बिजुली आयातमा सहजीकरण गरिदिन भारतसामु बंगलादेशको आग्रह

    नेपालको बिजुली आयातमा सहजीकरण गरिदिन भारतसामु बंगलादेशको आग्रह

    1.4K
    Shares
    नेपालको बिजुली आयातमा सहजीकरण गरिदिन भारतसामु बंगलादेशको आग्रह

    काठमाडौँ । बङ्गलादेशले नेपालको बिजुली सहजरुपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई आग्रह गरेको छ । ऊर्जाको बढ्दो माग तथा सङ्कट समाधानका लागि बङ्गलादेशले सकारात्मक वातावरण बनाइदिन भारतसँग पुनः आग्रह गरेको हो ।

    बङ्गलादेशका विद्युत्, ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले भारतका नवीन तथा नवीकरणीय ऊर्जामन्त्री राजकुमार सिंहसँग बुधबार भएको भेटमा नेपालको बिजुली आयातका लागि देखिने गरी सहकार्य गर्न आग्रह गरेका हुन् । यसअघि गत सेप्टेम्बरमा पनि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्यस्तै आग्रह गरेकी थिइन् ।

    बङ्गलादेशले हाल भारतबाट एक हजार एक सय ६० मेगावाट बराबरको बिजुली लगिरहेको छ । भारतीय मन्त्री सिंहले नेपालबाट बङ्गलादेशमा बिजुली आयातका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाएको बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने रणनीति तय गरेको छ ।

    बङ्गलादेशले सुनकोशी तेस्रो जलविद्युत् आयोजनामा लगानीका लागि चासो व्यक्त गर्दै आएको छ । यस्तै, भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले निर्माण गर्न लागेको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पाँच सय मेगावाट बिजुली लैजाने बताएको छ । यस्तै, गत भदौ नौ गते सम्पन्न नेपाल र बङ्गलादेशको ऊर्जा सचिवस्तरीय बैठकले तत्काल नै नेपालबाट ५० मेगावाट बिजुली लैजाने सहमति जनाएको थियो ।

    बिजुली लैजानका लागि भारतीय संरचना प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने निर्णयसमेत सो बैठकले गरेको थियो । सचिवस्तरीय बैठकले भारतीय भूमि र संरचना प्रयोगका सम्बन्धमा आवश्यक सहमति जुटाउन त्रिपक्षीय छलफल गर्ने सहमति गरेको थियो ।

    नेपाल र बङ्गलादेशबीच डेडिकेटेड विद्युत् प्रसारण लाइन निर्माण गर्न भारतको अनुमति आवश्यक छ । बङ्गलादेशले प्रारम्भिक चरणमा ४० देखि ५० मेगावाट बराबरको बिजुली लैजान सकिने बताएको थियो । बङ्गलादेशको भेरामारामा अवस्थित हाइ भोल्टेज डाइरेक्ट करेन्ट संरचनाको बाँकी रहेको क्षमता उपयोग गरी नेपालबाट त्यहाँ प्रारम्भिक चरणमा बिजुली निर्यातको मार्ग खोल्ने तयारी गरेको छ ।

    विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी व्यापार निगमबीच त्रिपक्षीय समझदारी हुन आवश्यक छ । प्राधिकरण र बङ्गलादेशको बोर्डले भारतीय पक्षलाई अनुरोध गर्ने सहमतिसमेत भएको थियो । एनभीभीएन भारतको ऊर्जा व्यापारको ‘नोडल एजेन्सी’ हो । बङ्गलादेशले हाल भारतबाट बिजुली लगिरहेको संरचनाले धान्ने बराबरको बिजुली लैजान तयार रहेको जनाएको थियो ।

    विद्यमान संरचनाले करिब ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान सकिने देखिएको छ । बङ्गलादेशले कूल छ सय ८३ मेगावाट क्षमताको सुनकोसी तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि सहमति जनाउँदै त्यसका लागि संयुक्त उपक्रममा रहने गरी प्रक्रिया अगाडि बढाइने सहमति गरको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend