काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन पुरस्कार पुस्तकालयको अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारीले साझा यातायातको विद्युतीय साझा बसमा सवार भएर शनिबार ललितपुरको पाटनढोका पुगी सो पुस्तकालय र ललितपुरमा नै रहेको पूरातात्विक तथा ऐतिहासिक महत्वको पिम्बहाल पोखरीको पनि रुचिपूर्वक अवलोकन गरेकी हुन् ।
त्यस अवसरमा उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले स्वागत गरेका थिए । पुस्तकालयको अवलोकन गर्ने क्रममा राष्ट्रपति भण्डारीले २०१५ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको चुनावी घोषणा पत्रको एक थान लिएकी थिइन् ।
भने स्वास्थानी ब्रत कथा, गरुड पुराणलगायतका पुस्तकहरुको ब्रिफिङ रुचिपूर्वक सुन्नु भएको ललितपुर महानगरपालिकाका मेयर महर्जनले जानकारी दिए । उनले भने, ‘उहाँले स्वास्थानीको कितावदेखि लिएर गरुढ पुराणदेखि लिएर थुप्रै पुस्तकबारे उहाँलाई ब्रिफिङ गर्नु भयो । त्यसपछि उहाँले त्यसको ध्यानपूर्वक अवलोकन गर्नु भयो । उहाँले निकै चासो राखेर पढनु भयो । र, २०१५ सालको चुनाव हँुदाखेरीको चाँही नेपाल कम्युनिष्ट पार्टीको मेनेफेस्टो पनि त्यहाँ रहेछ । त्यो चाँही उहाँले एक कपी लिनु भयो । यहाँ आउने चाहना राष्ट्रपतिज्यूले धेरै अघिदेखि गर्नु भएको थियो । कहिले कोभिड भन्यो, कहिले के भन्यो । अरु दिन आउँदाखेरी ट्राफिक जाम हुन्छ, जनतालाई दुःख हुन्छ भनेर उहाँले विदाको दिन शनिबार नै छान्नु भयो ।’
मदन पुरस्कार पुस्तकालय नेपालको निजी क्षेत्रको सबै भन्दा ठूलो र ८५ हजार भन्दाबढि पुस्तकहरुको अभिलेख व्यवस्थापन गरिएको निजी क्षेत्रद्वारा संचालित पुस्तकालय हो । यसको अवलोकन गर्ने राष्ट्रपति भण्डारीको यस अघिदेखिको चाहना रहेको र त्यो कोभिड लगायतका कारणले ढिलाई हुन गएको पनि मेयर महर्जनले बताए । यसैबीच, राष्ट्रपति भण्डारीले ललितपुरमै रहेको पिम्बहाल पोखरीको पनि अवलोकन गरेकी थिइन् । त्यस अवसरमा उनलाई मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले रचना गरेको धुन बजाएर सुनाइएको थियो भने उनले त्यसलाई ध्यानपूर्वक सुनेकी थिइन् ।
राष्ट्रपति भण्डारीले ट्राफिक जामका कारण सर्वसाधारणले सास्ती पाउने अवस्था नआओस् भनेर शनिबार विदाको दिन पारेर सो पुस्तकालय र पोखरीको अवलोकन गर्नु भएको मदन पुरस्कार पुस्तकालयले जनाएको छ ।