logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • बाँकेका गाउँमा माघी मेलाको तयारी

    बाँकेका गाउँमा माघी मेलाको तयारी

    1.4K
    Shares
    बाँकेका गाउँमा माघी मेलाको तयारी

    बाँके । थारु समुदायको मुख्य पर्व माघीको अवसरमा बाँकेका गाउँ–गाउँमा माघी मेलाको तयारी गरिएको छ । राप्ती सोनारी गाउँपालिका–३ भुवर भवानी मन्दिर परिसरमा यही पुस २९ देखि आगामी माघको ४ गतेसम्म लाग्ने माघी मेलाको धमाधम तयारी भएको मूल आयोजक समितिका संयोजक सुरज परियारले जानकारी दिए ।

    उनका अनुसार माघी मेलामा यस वर्ष राष्ट्रियस्तरका ख्याती प्राप्त थारु कलाकारको प्रस्तुतिसँगै थारु गाउँको पनि कक्ष रहने छ । यसवर्ष नयाँ अभ्यासका रुपमा थारु गाउँको छुट्टै कक्ष राखेर थारु गाउँ सञ्चालनमा ल्याउने तयारी भएको छ । मेलामा करिब पाँच सय कक्ष राखेर महोत्सवकै रुपमा लैजाने तयारी भएको स्थानीय कलाकार विश्वसागर परियारले जानकारी दिए ।

    महोत्सवस्थलमा रहेको भुवरभवानी मन्दिर रङ्गरोगन, मैदान ममर्त र प्रदर्शनी कक्ष दर्ताको काम भइरहेको उनले बताए । माघी पर्वका अवसरमा थारु गाउँमा सञ्चालन भएका माघी मेलामा भक्तजनको उल्लेख्य सहभागिता रहेको राप्तीसोनारी–३ का अगुवा तुलसीराम थारुले बताए ।

    उनका अनुसार राप्तीसोनारी–३ बैजापुरस्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वका अवसरमा लाग्ने माघी मेलामा बाँकेका साथै छिमेकी जिल्ला र भारतबाट समेत भक्तजन आउने गरेका छन् ।

    “भुवरभवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्नसके आस्थाको गन्तव्य बन्न सक्छ”, उनले भने, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।”

    विसं २०१३ मा स्थापना भएको भुवरभवानी मन्दिरमा वर्षमा तीन पटक विशेष पूजासँगै लाग्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने गरेको मेलाका संरक्षक एव राप्तीसोनारी वडा नंं ३ का वडाध्यक्ष मिनकुमार थारुले बताए ।

    मेलामा थारू समुदायको कला संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिसमेत हुने गर्दछ । भुवरभवानी मन्दिरको ऐतिहासिक महत्व रहेको बताउँदै पुर्खौंदेखि लाग्दै आएको मेलाको महत्व अझै बढ्दै गएको उनको भनाइ छ । माघी पर्वका अवसरमा नेपालगञ्जमा पनि यही पुस २७ र २८ गते लुम्बिनी प्रदेशस्तरीय माघी महोत्सवको तयारी गरिएको छ ।

    थारु कल्याण कारिणी नगरसभाको आयोजना र विभिन्न थारु सङ्घ संस्थाको समन्वयमा हुने कार्यक्रममा थारुको पहिचान झल्कने वेषभुषा र सांस्कृतिक झाँकी प्रदर्शनका साथै विविध सांस्कृतिक कार्यक्रम हुने थारु पत्रकार सङ्घ बाँकेका अध्यक्ष भगतराम थारुले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend