काठमाडौं । भोली अपरान्ह एक बजेका लागि आह्वान गरिएको संघीय संसदको पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसदको पहिलो अधिवेशनको सबै तयारी पूरा पूरा भएको जानकारी दिए । आईतबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राधिविक पक्षका सबै कामहरु पूरा गरिएको बताए ।
संघीय संसद अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक भोली एकसाथ बस्दैछ । प्रतिनिधिसभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रियसभा बैठकका लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णय अनुसार संघीय संसद सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाको भनाई थियो ।
संघीय संसद सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ । तर स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरुलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले जानकारी दिए ।
संघीय संसदमा १२ वटा राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको छ । सहायक प्रवक्ता धमलाले भने, ‘१२ वटा दलहरुलाई समेटेर सिटको व्यवस्थापन गर्नुपर्नेछ । हामीसँग भौतिक संरचना यति नै हो । थप छैन । कोभिडको संकट बढेर आउने पनि भनिएको छ । हामीले त्यसलाई पनि ख्याल गर्दै एउटा सिट खाली राखेर सिट व्यवस्थापन गर्नुपर्ने अवस्था छ । यो भवनलाई थप विस्तार गर्न सम्भव छैन । हामीले सम्भव भएसम्म सबै दलको कम्तिमा एक जना नेता भएपनि अगाडि रहने गरी मिलाउन कोसिस गर्यौं । हरसम्भव प्रयास गर्यौं । तर, केही दलहरुको त्यो सम्भावना भएन । हामीले त्यस्ता केही दलहरुलाई चाँही एउटा रोहमा मिलाएर उहाँहरुको दलीय प्रतिनिधित्वको स्ट्रेन्थको आधारमा मिलाएका छौं । बाँकि अरु सबै दलहरुलाई फ्रन्टमा नेता रहने र पछाडि अरु सदस्यहरु रहेन गरी मिलाएका छौं । यसमा सत्तापक्ष र प्रतिपक्ष मोटामोटी रुपमा विभाजन भईसकेको छैन । किनभने प्रधानमन्त्रीले विश्वासको मत लिने काम पर्सी हुँदैछ । अहिले उहाँहरुसँग समन्वय गरेर तपाईहरु सत्तापक्ष कि प्रतिपक्ष भनेर सोधेर उहाँहरुले जे भन्नु हुुन्छ, त्यसको आधारमा हामीले सत्तापक्ष र प्रतिपक्षमा रहने सदस्यहरुको अनुसार दलगत रुपमा सिटको व्यवस्था मिलाई सकेका छौं ।’
अधिवेशनमा सबै दलका संसदीय दलका नेताहरुले बोल्ने कार्यसूचि तय गरिएको छ । संघीय संसदमा सांसदहरुले पनि ईहाजिरी गर्ने व्यवस्था मिलाइएको छ ।भोलीबाट परीक्षणका लागि राष्ट्रियसभामा सुरु हुने र परीक्षण पछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि संघीय संसद सचिवालयले जनाएको छ ।