logo

२०८१ माघ १८ शुक्रबार

logo
  • शुक्रबार, १८ माघ २०८१
  • Advertisment

    Sunaulo Nepal

    ‘सुरक्षित अवतरण गर्न खोज्दाखोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनुपर्छ’

    ‘सुरक्षित अवतरण गर्न खोज्दाखोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनुपर्छ’

    1.5K
    Shares
    ‘सुरक्षित अवतरण गर्न खोज्दाखोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनुपर्छ’

    ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सरकारले सन्तुष्टि लिनु हुँदैन

    काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले २० प्रतिशत आयात घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा राज्यले सन्तुष्टि लिन नहुने बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै खतिवडाले बढी पुँजी निर्माण गर्ने औद्योगिक कच्चा पदार्थ, पुँजीगत आयात २० प्रतिशतले घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सरकारले सन्तुष्टि लिन नहुने बताएका छन् ।

    उनले अब १२ देखि १५ प्रतिशत आयात बढ्दा समेत भुक्तानी सन्तुलन बिग्रने चुनौति रहेको बताए । उनले नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको बताए ।सुरक्षित अवतरण गर्न खोज्दाखोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनुपर्ने अवस्थामा रहेको उनले बताए । पूर्वअर्थमन्त्री खतिवडाले रनवेबाट बाहिर गएको जहाजलाई राष्ट्र बैंकले सही ठाउँमा ल्याउन प्रयत्न गरिरहेको उल्लेख गरे ।

    उनले दुई/तीनवटा फ्याकटरहरु सही हुँदा नेपालको अर्थतन्त्र सही गति र दिशामा उड्नसक्ने अवस्थामा रहेको दाबी गरे । उनले हरेक क्षेत्रमा थप लगानी ल्याउनुभन्दा तत्कालीन क्षमता बढाउने योजना आवश्यक रहेको बताए । उनले ब्याजदर घटेर केही नहुने भन्दै नेपाललाई रोजगारी वृद्धि, निर्यात र उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेपनि ५ प्रतिशत आर्थिक वृद्धि गर्न सकिने उनको भनाई थियो ।

    उनले भने, ‘नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको थियो । धेरै चोटि बम्पिङ भएको हो । सुरक्षित अवतरण गर्न खोज्दाखोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनुपर्छ । राष्ट्र बैंकले एकातिरबाट तान्यो त्यही पनि असन्तुलन भइरहेको छ । अर्को दुईवटा चक्कासँगै तान्नुपर्ने भएको छ । रनवेमा ल्याइसकेपछि अनि टेकअफ गर्नुपर्ने कुरा आउँछ । टेकअफ गर्ने कुरामा हेड विङ विश्वको अर्थतन्त्र कता गइरहेको छ लगायतका कुराले हेड विङलाई त्यति धेरै समस्या छैन । त्यसलाई मैले त्यति ठूलो मानेको छैन । इन्जिनहरु ठिक हुँदा अर्थतन्त्रको जहाज सही गति र दिशामा पनि उठ्छ । अहिले रनवे ट्रयाक छोडेपछि हामी जिरो स्पीडमा रहेका छौं लगभग । तर यसलाई गति दिन सकिन्छ । अहिले नेपालको अर्थतन्त्र जहाज रनवेमा पनि शुन्यमा पुगेको अवस्था छ ।’

    कर्जाको ब्याजदर तत्काल एकल अंकमा आउँदैन

    उनले उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर एकल अंकको आउनुपर्छ भनेपनि अब निक्षेपको ब्याजदर आउनसक्ने तर कर्जाको ब्याजदर तत्काल एकल अंकमा आउन नसक्ने बताए ।

    उनले ब्याज घटेपनि एकल अंकमा निक्षेपको ब्याज र कर्जाको ब्याज सबैभन्दा कम दोहोरो अंकमा कर्जाको ब्याज आवश्यक रहेको बताए । खतिवडाले पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढीरहेको बताए । उनले चालु पुँजी कर्जा लिने र स्थिर पुँजीमा लगानी गर्दा समस्या आएको जानकारी दिए ।

    राष्ट्र बैंकले घरजग्गा कारोबार र निर्माण व्यवसाय क्षेत्रको कर्जा खुकुलो गर्नुपर्ने उनको भनाई थियो । पूर्वअर्थमन्त्री खतिवडाले निर्माणजन्य वस्तुहरुको व्यापार बढाउनको लागि भएपनि निर्माण क्षेत्रको कर्जा सहज बनाउनुपर्ने उनले बताए ।

    पूर्वअर्थमन्त्री खतिवडाले वर्षौंसम्म अवैध रुपमा चल्ने गिटी, बालुवा, क्रसर तिब्र निर्माणको समयमा बन्द गर्न नहुने बताए । उनले निर्माण गर्ने समयमा क्रसर उद्योग बन्द गराएर ठेकेदारले समयमा काम सम्पन्न गरेन भन्न नमिल्नेमा जोड दिए । सरकारले क्रसर उद्योगका समस्या किस्ताकिस्तामा समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend