logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • चालु आर्थिक वर्षको छ महिनामा आयातसँगै निर्यात पनि घट्यो

    चालु आर्थिक वर्षको छ महिनामा आयातसँगै निर्यात पनि घट्यो

    1.6K
    Shares
    चालु आर्थिक वर्षको छ महिनामा आयातसँगै निर्यात पनि घट्यो

    काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।

    तथ्याङ्क अनुसार गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव शून्य एक प्रतिशतले कमी आएको हो । गत आवको पुससम्म  नौ खर्ब ८८ अर्ब ३४ करोड ४२ लाखको वस्तु आयात भएकोमा चालु आवको सोही अवधिमा सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाखको आयात भएको हो ।

    साथै गत आवको पुससम्म एक खर्ब १८ अर्ब ८५ करोडको वस्तुको निर्यात भएकोमा चालु आवको सोही अवधिमा जम्मा ८० अर्ब ८० करोड ७४ लाखको निर्यात भएको हो । तथ्यांङ अनुसार कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७५ र निर्यातको हिस्सा नौ दशमलव २५ प्रतिशत छ ।

    सात खर्बको व्यापारघाटा

    चालु आर्थिक वर्षको छ महिनामा व्यापारघाटा रू सात खर्बभन्दा पुगेको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार वैदेशिक व्यापारघाटा सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख पुगेको छ । समीक्षा अवधिमा नेपालले आठ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाखको वैदेशिक व्यापार गरेको छ । गत आवमा आठ खर्ब ८० अर्ब बढीको व्यापारघाटा हुँदा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखभन्दा बढीको वैदेशिक व्यापार भएको थियो । विभागको तथ्यांकअनुसार गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव १५ प्रतिशतले घटेको छ ।

    तथ्यांक अनुसार छ महिनामा नेपालले छिमेकीमूलुक भारतसँग मात्र चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार बराबरको व्यापारघाटा व्यहोरेको छ । उक्त अवधिमा नेपालले भारतबाट चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात गरेको छ भने ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजारको निर्यात गरेको छ ।

    आयात प्रतिबन्धको असर राजस्वमा

    सरकारले सवारी साधानलगायत विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्धको असर भन्सार राजस्वमा देखिएको छ । गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ७४ अर्ब ७६ करोड ४२ लाख ५१ हजार बराबर राजस्व संकलनमा कमी आएको छ । गत आर्थिक वर्षको छ महिनामा दुई खर्ब ५७ अर्ब ६० करोड ४६ लाख ७६ हजार राजस्व संकलन गरेकोमा चालु आवमा सोही अवधिमा एक खर्ब ८२ अर्ब ८४ करोड बराबर राजस्व संकलन भएको हो ।

    सरकारले सबै प्रकारका मदिरा, एक सय ५० सिसीभन्दा बढी क्षमताका मोटरसाइकल, तीन सय डलरभन्दा माथिको मोबाइल र सवारी साधन आयातमा प्रतिबन्ध हटाइसकेको छ ।

    विभागका अनुसार छ महिनामा नेपालले विभिन्न देशबाट सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको विदेशी वस्तुको आयात भएको हो । तर, मंसिरमा एक खर्ब ३२ अर्ब बराबरको विदेशी वस्तुको आयात भएकोमा पुसमा एक खर्ब २७ अर्ब बराबरको मात्रै आयात थपिएको हो ।

    एक सय ४८ देशबाट आयात

    विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको तथ्यांक अनुसार नेपालमा विभिन्न एक सय ४८ देशबाट सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ ।

    तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । छ महिनाको अवधिमा नेपालले भारतबाट मात्रै चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख बढीको आयात भएको छ ।

    कुल चार खर्ब बढीको आयात हुँदा ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजार बराबरको मात्रै निर्यात गरेको छ । नेपालले भारतसँग मात्रै चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार बराबरको व्यापारघाटा व्यहोरेको छ ।

    भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । छ महिनाको अवधिमा चीनबाट एक खर्ब नौ अर्ब ९७ करोड ८७ लाख बराबरको आयात भएको छ भने ३४ करोड ११ लाख मात्र निर्यात भएको छ । चीनसँग मात्र एक खर्ब नौ अर्ब ६३ करोड ७५ लाख बराबरको व्यापारघाटा भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend