logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • चारबुँदे सहमतिपछि लुम्बिनीको विवाद समाधान

    चारबुँदे सहमतिपछि लुम्बिनीको विवाद समाधान

    1.3K
    Shares
    चारबुँदे सहमतिपछि लुम्बिनीको विवाद समाधान

    लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको रामकथा प्रवचनका कार्यक्रम आयोजनाका विषयमा देखिएको विवाद समाधान भएको छ । लुम्बिनीमा भारतीय सन्त मुरारी वापुद्वारा गरिने कथावाचनको विषयलाई लिएर कुनै पनि पक्षले विरोध नगर्नेलगायत चारबुँदे सहमतिपछि विवाद समाधान भएको हो ।

    लुम्बिनी विकास कोषमा आज रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको रोहवरमा बसेको बैठकले सहमति गरेको हो। बैठकमा लुम्बिनी गुरुयोजनाबमोजिम पवित्र उद्यान र अन्तर्राष्ट्रिय विहार क्षेत्रलाई कुनै पनि असर नपर्ने गरी सम्मेलन केन्द्रमा मुरारी वापुको कथावाचन कार्यक्रमको कोषले व्यवस्थापन गर्ने सहमति भएको छ ।

    नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष युवराज जिरेल, महासंघका केन्द्रीय कोषाध्यक्ष विमल सारू, सङ्घर्ष समितिका संयोजक पार्वती घर्तीमगर, नेपाल आदिवासी जनजाति महासङ्घ रुपन्देहीका अध्यक्ष चित्रलाल तुलाचन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्य विश्वराज पौडेल र रामकथाका स्थानीय आयोजक संयोजक राजेश अग्रवालले सहमतिमा हस्ताक्षर गरेका छन् ।

    यस्तै माघ २३ गते पर्साचोकमा शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा भएको घटनाको दुःख व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था मिलाउने र घटनाको आवश्यक छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्ने सहमति भएको छ । विश्व शान्ति क्षेत्र लुम्बिनीका सन्दर्भमा यी विषयलाई लिएर कुनै पनि पक्षले विरोध कार्यक्रम नगर्ने सहमति गरिएको छ ।

    त्यसैगरी लुम्बिनीमा सञ्चालन भएको रामकथाका विषयलाई लिएर विभिन्न बौद्धमार्गीले संवादका क्रममा राखेको सुझावलाई आयोजकलाई ध्यानाकर्षण गराई कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालनमा आएका सरोकारका विषयमा लुम्बिनी विकास कोषले बुद्ध, धर्म, सङ्घ, दर्शन र परम्पराविपरीत नहुने गरी कार्यविधि बनाउने र उक्त कार्यविधि बनाउँदा बुद्धधर्मसँग सम्बन्धित सङ्घ संस्था र सरोकारवालासँग परामर्श गर्ने सहमति उल्लेख छ ।

    लुम्बिनीमा आजदेखि मुरारी वापुको कथा प्रवचन सुरू भएको छ । लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिको आयोजनामा आजदेखि सुरु हुने रामकथा प्रवचनका लागि वापु यहाँ आएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend