धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभामा बिहीबार मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदैछन् ।
बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो । सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा साथ दिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान राखेको छ ।
रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिने अन्तिम दिन हो । प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते संविधानको धारा १६८ (२) बमोजिम एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपासहित प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज विश्वासको मत लिई सक्नुपर्छ । ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ ।