धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो । विश्वासको मत नपाएका कारण प्रदेश सरकार ढलेको यो पहिलो घटना हो ।
प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता रावल गत पुस २७ गते संविधानको धारा १६८ (२) बमोजिम एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपासहित प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले आज विश्वासको मत पाउन सकेनन् । ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ ।
प्रदेशसभामा सत्तापक्षीय नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रापाका एक सदस्य छन् । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा ढएकीकृत समाजवादीणका चार र एक स्वतन्त्र सदस्य रहेका छन् ।
नागरिक उन्मुक्तिका कुनै पनि सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन सकेनन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सहित जेलमा रहेका नेता जेलमुक्त नभएसम्म सरकारलाई विश्वासको मत नदिने सर्त पुरा हुन सक्दा प्रदेश सरकार ढलेको हो । अर्को सूचना जारी नहुन्जेलसम्मको लागि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ ।