logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • रेशम जीलाई छुटाउन म अथक प्रयास गर्ने छु : मुख्यमन्त्री शाह

    रेशम जीलाई छुटाउन म अथक प्रयास गर्ने छु : मुख्यमन्त्री शाह

    1.4K
    Shares
    रेशम जीलाई छुटाउन म अथक प्रयास गर्ने छु : मुख्यमन्त्री शाह

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहेका नागरिक उन्मुिक्त पार्टीका संरक्षक रेशम चौधरीका परिवारलाई भेट गरेका छन् ।

    शुक्रबार साँझ मुख्यमन्त्रीको पदभारग्रहण गरेको भोलिपल्ट कैलालीको जानकी–९ जगतपुरस्थित चौधरीको घरमै पुगेर परिवारका सदस्यालाई भेटघाट गरेका मुख्यमन्त्री शाहले रेशम लगायतकालाई जेलमुक्त गराउन आफू लागिपर्ने आश्वासन दिएका छन् ।

    उनले उक्त घटनालाई राजनीतिक रुपमा नै समाधान खोजिनुपर्ने बताए । रेशम चौधरीकी ६८ वर्षीया आमा सुनफीदेवी चौधरीबाट आशिर्वाद लिँदै मुख्यमन्त्री शाहले भने, ‘म पनि तपाईंको छोरा हो । चिन्ता नलिनुहोला । रेशम जीलाई छुटाउन म अथक प्रयास गर्ने छु ।’

    मुख्यमन्त्री शाहलाई आशिर्वाद दिँदै सुनफीदेवीले भनिन्, ‘आफूले सानो छँदा खेलाएको स्मरण गर्दै आफ्नो छोरा रेशमलाई पनि जेलबाट छुटाएर यसरी नेता भएर आएको देख्न मन छ ।’ मुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने रेशमका सहोदर भाइ प्रकास चौधरीलाई आश्वासन दिए ।

    टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस् पुगेको उनको भनाइ थियो । मुख्यमन्त्री शाहले भने, ‘टीकापुर घटनाले यस क्षेत्रको हरेक कोणबाट बदनाम गर्ने काम भइरहेको छ । वर्षौदेखि मिलेर बसेको समाजमा फाटो ल्याउने काम भइरहेको छ । अब त्यो तपाईं हामी सबैले बुझ्नुपर्छ । सबै सजग हुनुपर्छ ।’

    मुख्यमन्त्री शाहले आजै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष सङ्घीय सांसद रञ्जिता श्रेष्ठसँग भेटवार्तासमेत गरेका छन् । टीकापुरस्थित सिद्धार्थ होटलमा भएको घेटघाटमा वर्तमान राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको मुख्यमन्त्रीका सचिवालय प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।

    शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जसका लागि २७ सांसदको समर्थन चाहिन्छ । यसअघि नेकपा एमाले नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो । शाहले विश्वासको मत पाउने दाबी गरिरहेका छन् ।

    मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक जना सांसदको समर्थन पाउने विश्वास व्यक्त गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक नौ, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एकजना सांसद छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend