काठमाठौं । नेपाली चलचित्र फूलबारी आज (शुक्रवार) बाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । चलचित्र प्रदर्शनअघि बिहीवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी प्रिमियर शो गरिएको हो ।
सो प्रिमियर शोमा कलाकारहरु चलचित्र को कथावस्तुलाई लिएर रोएका थिए । प्रिमियर शो पछि सिने पत्रकारसँग कुरा गर्दै अभिनेता विपिन कार्कीले चलचित्रमा सबै कलाकाकरले आफ्नो तर्फबाट बेस्ट लिएकाले पनि चलचित्र उत्कृष्ट बनेको बताए । त्यस्तै अभिनेता दयाहाङ राईले चलचित्रले नैतिक शिक्षा मात्रै नभइ व्यवहारिक शिक्षा पढाउनुपर्ने सन्देश दिएको बताए । उनले अहिले सबै मानिसहरु आफ्नो लागि हिँडिरहँदा परिवारमा समय दिन नसकेको कुरालाई सिनेमाले देखाएको बताए । अभिनेत्री मेरुना मगरले चलचित्रमा परिवार भन्दा टाढा बस्दाका अनुभवहरु देखाइएको बताइन् । उनले अभिभावक बिरामी हुँदा सँगै हुन नपाएको पीडा लगायतका विषयमा चलचित्र निर्माण भएकाले मन छोएको बताइन् । त्यस्तै अभिनेत्री शिल्पा मास्केले चलचित्रको कथावस्तुले आफूलाई रुहाएको बताइन् । उनले चलचित्रले अहिले अधिकांश परिवारले भोगिरहेको कथावस्तुलाई देखाइएको बताइन् । त्यस्तै अभिनेत्री प्रियंका कार्कीले फिल्ममा परिवारबाट कोही सदस्य टाढा हुँदा धेरै पीडा हुने र त्यही कुरा चलचित्रमा देखाइएको बताइन् । चलचित्रले धेरै ठाउँमा मन छोएको बताइन् ।
चलचित्र ‘फूलबारी’ मा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनुपम शर्मा शर्मालगायत कलाकारको अभिनय रहेको छ । रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘फूलबारी’ पारिवारिक कथावस्तुमा आधारित चलचित्र हो । यो चलचित्रमा दयाहाङ विपिनको भतिजको चरित्रमा छन् । विपिन अवकाशप्राप्त शिक्षकको भुमिकामा छन् ।