काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाले स्थानीय पर्यटकीय गन्तव्य लिपे लेकु लाई प्रवर्द्धन गर्न राउन्ड ट्रेक कार्यक्रम शुरू गरेको छ । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेश समितिसँगको सहकार्यमा गाउँपालिकाले शुक्रबारदेखि राउन्ड ट्रेक शुरू गरेको हो ।
नौथरशेरा, इलम पोखरी, लिपेलेक, दाम्राङ हुँदै फेरि नौथरशेरा पुग्नेगरि राउन्ड ट्रेक शुरू गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । पर्यटन व्यवसायी, गाउँपालिकाका प्रतिनिधि, पत्रकार एवम् अन्य सरकारी प्रतिनिधि सहित २५ जनाको सहभागीता रहेको सो राउन्ड ट्रेक त्यहाँको पर्यटकीय सम्भावनाबारे समेत अवलोकन तथा अध्ययन अनुसन्धान गर्नेछ ।
टान गण्डकी अध्यक्ष धर्मराज पन्थी नेपाल माउन्टेरियन एसोसिएसन, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मा दोर्दी पालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष विक्षबहादुर घले लगायत अन्य पर्यटन व्यवसायी, पत्रकार लगायतको सहभागीता छ । कार्यक्रमको संयोजन टान गण्डकी प्रदेशका उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले गरेका छन् ।
राउन्ड ट्रेकको पहिलो दिन शुक्रबार इलम पोखरीमा क्याम्पिङ गरेका थिए । आज प्रसिद्ध पर्यटकीय गन्तव्य लिपे लेकमा क्याम्पिङ गरि भोलि दाम्राङ पुग्ने सो टिमको योजना रहेको छ ।
नयाँ रुटलाई एक्स्प्लोर गर्ने टान गण्डकीको उद्देश्य रहेको छ भने गाउँपालिकाले पनि आफ्नो ठाउँमा भएका पर्यटकीय कुराहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
लिपे लेक हिमालहरूको मनमोहक दृश्य अवलोकनका लागि प्रसिद्ध छ । माछापुच्छ्रे, हिमचुली हिमाल, मनास्लु, गणेश हिमालको अद्भुत दृष्यहरू लिपे लेकबाट देख्न सकिन्छ । साथै काठमाडौंको शिवपुरीसमेत यहाँबाट देख्न सकिन्छ ।