logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • बजेट अभावको चपेटामा खेलकुद

    बजेट अभावको चपेटामा खेलकुद

    924
    Shares
    बजेट अभावको चपेटामा खेलकुद

    गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा आजदेखि शनिबारसम्म राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता छ । पालिकाबाट छनोट भएका खेलाडीलाई जिल्लाबाट छनोट गरेर प्रदेशमा पठाइनेछ ।

    यहाँ जिल्लाका १२ पालिकाबाट एक हजार तीन सय ६० खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन् । जसबाट ७६ खेलाडी छनोट भएर प्रदेशमा जानेछन् । गुल्मीले छ विधाका खेलमा सहभागिता जनाउने छ । भलिबल, कबड्डी, लङजम्प, तेक्वान्दो, कराते र मार्सल आर्टमा खेलाडी छनोट गरिँदै छ ।

    पालिकामा छनोट भएका खेलाडी जिल्लामा छनोट गरेर प्रदेशमा पठाउने भूमिका पाएको जिल्ला खेलकुद विकास समिति गुल्मी भने आर्थिक पिरलोमा छ । वर्षभरमा समितिले एक वा दुई यस्तै खेलाडीको छनोट गर्नेबाहेक अन्य भूमिका पाउन सकेको छैन् । यो भूमिकालाई पनि व्यवस्थित गरेर लैजान समितिसँग बजेट नभएपछि समस्या हुँदै गएको छ ।

    बजेट अभावको चपेटामा खेलकुद छ । आफूहरुले खर्च गरेर खेल व्यवस्थित गर्न बजेट अभाव रहेको कार्यालय प्रमुख डिल्ली विकले बताए। “जिल्लास्तरीय छनोटमा पनि बजेटको आकार कमजोर छ”, पत्रकार सम्मेलनमा विकले भने, “केन्द्र, प्रदेश र पाल्पा हुँदै तम्घाससम्म आउने बजेटले हामीलाई पुग्दैन”, जिल्लामा यस छनोट प्रतियोगिताका लागि केन्द्रले साढे चार लाख विनियोजन गरेको छ । जुन रकम प्रदेश हुँदै कार्यालयले पाल्पाबाट मात्र भुक्तानी पाउने गरेको छ ।

    बजेट अभावको कारण खेल व्यवस्थित बनाउन नसकिएको समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए। आफूहरुसँग पर्याप्त रकम नहुँदा सामान्यरुपमा छनोट गर्नुपर्ने अवस्था रहेको श्रेष्ठले बताए । “बजेटको चपेटामा खेलकुद क्षेत्र छ”, उनले भने, “स्थानीय सरकासँग बजेट छ, सहयोग गर्नुप¥यो ।” स्थानीय तहहरुले आफ्नो तहबाट छनोट गरेर जिल्लासम्मको खर्च बेहोर्दै आएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाको व्यवस्थापन र प्रदेशसम्मको खर्च बेहोर्दै आएको छ ।

    गत वर्षको राष्ट्रपति रनिङ शिल्डमा खेलकुद विकास समितिको नौ लाख खर्च भएको थियो । साथै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि समितिको नौ लाखकै हाराहारीमा खर्च भएको कार्यालय प्रमुख विकले जानकारी दिए। साढे चार लाख बाहेकको बजेट भाँडाबाट उठ्ने र स्थानीय सरकारसँग मागेर पूरा गरिएको छ । यसपटक पनि कार्यालय खर्च व्यवस्थापनको पिरलोमा छ ।

    जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष गिरीप्रसाद महाकिमले केन्द्र र प्रदेशले दिएको जिम्मेवारी पुरा गर्ने बताए । “खेल क्षेत्र राज्यको उपेक्षामा छ, बजेट अभावले खेलकुद चपेटामा छ”, उनले भने, “जसोतसो आर्थिक व्यवस्थापन गरेर जिम्मेवारी पूरा गर्छौं ।” स्थानीय पालिकाबाट रु ५०/५० हजार सहयोग भएमा आफूहरुले खेल क्षेत्रलाई व्यवस्थित गरेर लैजान सक्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष महाकिमको भनाइ छ । बुधबार तम्घासमा पत्रकार सम्मेलन गरेर समितिले खेलाडी छनोटको लागि तयारी पूरा भएको जानकारी दिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend