काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले महिला स्वास्थ्यका देखिएका समस्या र ती समस्यालाई समाधान गर्नका लागि सम्मेलन आयोजना गर्न थालिएको जानकारी दिए ।
उनका अनुसार यही फागुन २५ र २६ गते सम्मेलन हुनेछ । सम्मेलन महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा केन्द्रित हुने उनको भनाइ छ ।
सम्मेलनमा यौन, तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोरकिशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहयाता आवश्यकपर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणसम्बन्धी विषयमा छलफल हुने उनले जानकारी दिए ।
विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले महिला स्वास्थ्यमा प्राप्त भएका उपलब्धि, चुनौती तथा अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्याङ्कको सम्मेलनमा छलफल हुने जानकारी दिए ।
महिला स्वास्थ्यको विषयलाई विस्तार गर्न र सशक्त बनाउनका लागि अनुसन्धान, क्षमता, अभिवृद्धि, नीति निर्माण र पैरबीबीच अन्योन्याश्रिक सम्बन्धलाई थप बलियो बनाउनका लागि सम्मेलन आयोजना गर्न लागिएको उनको भनाई छ ।
सम्मेलनमा महिला स्वास्थ्यबारे ८५ वटा कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनमा देशभरिका महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैरसरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्था लगायतका तीन सयभन्दा बढी प्रतिनिधिको सहभागी हुनेछ ।
सम्मेलनमा महिला स्वास्थ्यका विषयमा कार्यरत अनुसन्धानकर्ता, विद्धान, एवम् विज्ञ र कार्यक्रमका कार्यन्वयनकर्ताबाट उपलब्ध भएका तथ्याङ्क, तथ्य, सिकाइ र दृष्टिकोणलाई छलफल गरिनेछ ।
यस्तै महिला स्वास्थ्य क्षेत्रमा भएका नवीन प्रयास र सफलतालाई पनि छलफल गरिने छ ।