काठमाडौं । वागमती नदी नेपालीहरुको आस्थाको केन्द्र हो । हिन्दुहरुका लागि जन्मदेखि मरणोपरान्त वागमती नदीको आवश्यक्ता त्यत्तिकै छ । हिन्दुहरुको मात्रै नभइ किराँत समुदायका लागि पनि वागमती नदीको आवश्यक्ता र औचित्य हिन्दुसमान छ । वागमती नदीको सभ्यता धेरै गर्विलो छ ।
वागमती नदी अहिले ढलमती उपनामले परिचित छ । यसको कारण काठमाडौंवासीको लापरबाही र सरसफाईमा चासो नहुनु नै हो । ढल मिसाउने, फोहोर फाल्ने स्थान बनेको वागमती नदीलाई हराभरा बनाउनुपर्छ र मात्रै हामी स्वच्छ र स्वस्थ रहनसक्छौँ भन्ने मानसिकता नै काठमाडौंवासीमा छैन । पछिल्लो समय वागमती सरसफाई अभियानसँगै वागमतीमा केही कम फोहोर छ तर आम मानिसको मन, मस्तिष्कमा फोहोर फाल्नु हुँदैन भन्ने ध्येय नै छैन । ढल, फोहोर र दुर्गन्धपूर्ण वागमती नदी स्वच्छ, सफा र सुन्दर वागमती हुन र आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ । सबै लागेर फोहोर नफाल्ने हो भने फेरि वागमती नदी छेउमा हरियाली र प्राकृतिक वास्नासहित बहनेछ ।
तर, काठमाडौंवासी नै वागमतीलाई सफा बनाउँदा आफ्नै स्वार्थसिद्ध हुन्छ भन्नेकुराबाट टाढा छन् । काठमाडौं उपत्यकाभित्र त वागमती फोहोर छ नै चोभार नजिकबाट काठमाडौंबाहिरिने क्रममा पनि कालो वागमती नदीको पानी देख्दा काठमाडौंवासीदेखि नै वितृष्णा जाग्छ । काठमाडौंको सिनामंगल क्षेत्रमा सुकुम्वासीले वागमती नदी हडपेर बनाएको टहरा होस् वा गोकर्णस्थित वागमती नदी किनारमा बनाइएको शौचालय यी सबैले हामी नेपालको काठमाडौं जस्तो सुन्दर, विकसित शहरलाई गिज्याउँछ ।
काठमाडौं उत्तरबाहिनीस्थित वागमती नदीमा मिसाइएको नाली, ललितपुर सानेपाबाट वागमतीमा मिसाइएको ढल, कुपण्डोल युएन पार्कनजिक वागमती नदी किनारमा भत्केको बार, बुद्धनगर क्षेत्रमा बाढीले बगाएर ल्याएको फोहोर, सुन्दरीघाट वागमती नदी छेउ थुपारिएको फोहोर, कुलेश्वर छेउको वागमती र सुकुम्वासी बस्ती यी सबैले विकसित शहरका अविकसित मानिसको सोचलाई दर्शाउँछ । यसमा कोही एक व्यक्तिले मात्रै पहल गरेर सम्भव छैन, सरकार, स्थानीय निकाय, निजी संघसंस्था र आम सर्वसाधारण सबै मिलेर सरसफाईमा ध्यान दिने हो भने पक्कै पनि वागमतीले आफ्नो पुरानो लय समात्नेछ ।