logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • पूर्व क्रिकेटर गौचन भन्छन्- उत्साहित नबनौँ, सम्हालिएर खेले सुखद नतिजा आउनेछ

    पूर्व क्रिकेटर गौचन भन्छन्- उत्साहित नबनौँ, सम्हालिएर खेले सुखद नतिजा आउनेछ

    1.1K
    Shares
    पूर्व क्रिकेटर गौचन भन्छन्- उत्साहित नबनौँ, सम्हालिएर खेले सुखद नतिजा आउनेछ

    काठमाडौं । पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले उच्च नतिजा हात पारिरहेको छ । पछिल्लो समय खेलेका ११ खेलमध्ये १० खेल जितेको छ भने एक खेलमा मात्रै हार व्यहोर्नुपरेको छ । नेपालमा नै भएको स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक सिरिज होस् वा युएईमा भएको युएई र पपुवा न्युगिनीसँगको खेल होस् । आज नेपालले लिग टुको अन्तिम खेल युएईसँग खेल्दैछ । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहान ९ः३० बजेबाट सुरु हुने खेलमा नेपालले जित हात पार्नुपर्ने दबाब छ ।

    नेपालले युएईलाई आजको खेलमा हराए टेस मान्यता प्राप्त राष्ट्रहरूसँग खेल्न पाउनेछ । आजको खेलको बारेमा हामीले नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी शक्ति गौचनसँग यसै सन्दर्भमा केन्द्रित रहेर कुराकानी गरेका छौँ । कुराकानीमा गौचनले नेपालले आजको खेलमा धेरै एक्साइटेड हुनुपर्ने अवस्था नरहेको बताए । उनले सम्हालिएको प्रदर्शन र विगतका खेलहरुलाई निरन्तरता दिए आज पनि नेपालले सुखद नतिजा निकाल्ने बताए । उनले नेपाली टिम यति धेरै सफलताको शिखर चुम्न सक्नुमा प्रशिक्षक र खेलाडीहरुको मेहनतका साथै खेलाडीहरुमा पछिल्लो समय देखिएको एकता नै रहेको बताए । उनले नेपालका खेलाडीहरुमा अनुभव पनि बढ्दै जाँदा नतिजा सोचेअनुसार नै आएको र प्रशिक्षक र कप्तानको योजना सफल बनिरहेको पनि बताए । पूर्वक्रिकेटर गौचनले सुखद नतिजा निकाल्दै छनोट यात्रा तय गरेको अवस्थामा ट्वान्टी–२० पछिको सबै भन्दा यादगार क्षण हुने बताए ।

    पछिल्ला खेलमा नेपालले निकालेका सफलतालाई कसरी लिनुभएको छ ?

    नेपाली टोलीले पछिल्लो समय पाएको सफलता निकै सकारात्मक छ । यसअघि पनि खेल त्यस्तो बिग्रिसकेको भने थिएन । त्यो बीचमा टोलीमा समावेश भएको केही खेलाडीमा अनुभवको कमी थियो । सो अवस्था हामी अनुकूल थिएन । अहिले आएर टोली सम्हालिएको छ । केही उतारचढाव टोलीमा हुन्छन् । अहिले सम्हालिएको छ । भोलि हुने ३६ औं खेलमा खेलाडीले धेरै अनुभव बटुलिसकेका छन् । सो क्रममा ११ खेल खेल्दा १० खेलमा नतिजा निकाल्न सफल भएको छ । बिहीबार नेपालले युएईसँग लिगको अन्तिम खेल खेल्दैछ । जुन खेल निकै अर्थ पूर्ण तरिकाले हेरिनेछ । खेल ऐतिहासिक हुनेछ । जित निकाल्दै विश्वकप छनोटमा स्थान बनाउनेछ ।

    पछिल्लो समय नेपाली टोलीले प्राप्त गरेको सफलताको रहस्य के हुनसक्छ ?

    अहिले टोली एक भएको छ । खेल्दा खेल्दा नयाँ खेलाडीले अनुभव बटुलिसकेका छन् । पछिल्लो १० खेलको नतिजाबाट खेलाडीमा अनुभव मिलेको देखियो । अहिलेको अवस्थामा नेपाली टोली नतिजा अनुकूल भइरहेको छ । अहिले जुन टोलीसँग खेले पनि नतिजा निक्लिन्छ भन्ने लागेको छ । यो अवस्था आउन खेलाडीको अथक मेहनत छ । उनीहरूको कडा मेहनत देखिएको हो । खेलाडीले वर्षौँदेखि गरेको हात पार्न गरेको मेहनत मैदानको खेलबाट देखिएको छ । सबै संयन्त्रबाट सही काम भएको अवस्थामा सफलता मिल्न भन्ने यसबाट सन्देश मिलेको छ ।

    यसअघि बलिङ पक्ष राम्रो भनिन्थ्यो तर अहिले अन्तिमसम्म पनि ब्याटिङ लाइन राम्रो देखिएको छ, पर्दापछाडिको रहस्य नयाँ प्रशिक्षक हुन् कि अन्य कुनै कारण पनि छन् ?

    यो अवस्थामासम्म आइपुग्दा सबै विषय जोडिएका छन् । खेलाडीको मेहनत हुने नै भयो । अर्को भनेको अन्तर्राष्ट्रिय स्तरमा ब्याटिङको अनुभव हो । कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा मौका पाउनु नै सुधारका लागि अवसर हो । अहिले टिममा नयाँ जोस छ । नयाँ लक्ष्यका साथ टोली अगाडि बढिरहेको छ । टिमको एक मात्र लक्ष्य भनेको विश्वकप छनोटमा स्थान बनाउने रहेको छ । सँगै जोडिनुभएका प्रशिक्षक मोन्टी देशाई हुन् । उहाँसँग मैले ४÷५ वटा भ्रमण गरेको छु । उहाँ ब्याटिङ प्रशिक्षक र कन्सल्टेन्टको रूपमा जोडिनुभएको थियो । सो क्रममा मैले धेरै नयाँ कुरा सिकेको छु । उहाँ निकै सजिले र सरल तरिकाले सिकाउने प्रशिक्षक हुनुहुन्छ । साथै उहाँले ठुला विषयलाई सहज तरिकाले सल्टाउन सक्ने क्षमता राख्नुहुन्छ । उहाँको यही खुबी नै अहिलेको टिममा परेको हो जस्तो लाग्छ । यस्तै यस्तै विषयको सम्मिश्रणले गर्दा टोली लयमा देखिएको छ ।

    नेपालले बिहीबार लिगकै अन्तिम खेल युएईसँग खेल्दैछ, जुन निकै महत्त्वपूर्ण छ, उक्त खेलको अनुमान के छ ?

    नेपालले बिहीबार युएईसँग खेल्दै गर्दा म निकै उत्साहित छु । यो उत्साह म मात्रै छैन समग्र नेपाल पनि यस खेलमा उत्साहित छ । सबै नेपाली प्रतीक्षामा छ । उत्साहलाई खुसीयालीमा परिणत गर्न पाउँ भन्ने छ । सुखद नतिजा निकाल्दै छनोट यात्रा तय गरेको अवस्थामा ट्वान्टी–२० पछिको सबै भन्दा यादगार क्षण हुनेछ । यो क्षण २०१४ पछिको हुनेछ । २०१४ मा नेपालले ट्वान्टी खेलेको थियो । युएईसँगको खेलपछि नेपाली टोलीले समग्र नेपालीलाई खुसी अवश्य नै दिनेछ ।

    टस कतिको महत्त्वपूर्ण हुनेछ ?

    टस खासै महत्त्वपूर्ण हुँदैन । तर विकेटको हिसाबले महत्त्वपूर्ण हुनेछ । टस जिते राम्रो हुने हारे नराम्रो भन्ने हुँदैन । हामी जसरी भए पनि यो खेलमा सुखद नतिजा निकाल्ने हो । अहिलेको टोलीमा जोस र जाँगर छ । टोलीले लक्ष्य निर्धारण गरेको छ । जति सक्दो राम्रो खेल्ने हो । योजनबद्ध तरिकाले खेल्यौँ भने अवश्य नै नतिजा पोल्टामा पर्छ । बल बाई बल अगाडि बढ्नुपर्छ । रणनीति अनुसार खेल्दा अपेक्षा गरिएको सफलता पाउनेछौं ।

    विपक्षी टोलीबिरुद्ध कस्तो रणनीति हुन्छ होला ?

    कुनै पनि खेलमा विपक्षीसँग कस्तो खेल्ने भन्ने विषयमा टिम म्यानेजमेन्ट, प्रशिक्षक र कप्तानले निर्धारण गरेको हुन्छ । बाहिर बसेर धेरै कुरामा टिप्पणी गर्नसक्छौं । सबै विषयमा मूल्याङ्कन ड्रेसिङ रुममा भएको हुन्छ । अघिल्ला खेलमा प्राप्त नतिजाको आधारमा भन्नुपर्दा युएईलाई अन्तिम खेलमा पराजित गर्न कठिन हुनेछैन । सहज तरिकाले हामीले नतिजा निकाल्न सक्छौँ ।

    समर्थक र खेलाडीलाई सुझाव के छ ?

    जुन लयका साथ टोलीले खेलिरहेको छ त्यो लयलाई निरन्तरता दिन आग्रह गर्दछु । कप्तानले पनि राम्रो तरिकाले टोलीको नेतृत्व सम्हालिरहनुभएको छ । धेरै उत्साहित हुनेपर्ने अवस्था होइन । बलबाई बल केन्द्रित रहेर खेल्दा नतिजा हाम्रै पक्षमा पर्छ । अघिल्ला खेल लिएको लयलाई निरन्तरता दिनु राम्रो हुन्छ । न्युज एजेन्सी नेपाल


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend