काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् ।
मंगलबार बिरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरुलाई प्रदर्शनस्थलमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरुको समस्या समाधान गर्नुपर्ने बताएका हुन् । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए ।
उनले आफ्नो पार्टी पीडितहरुको साथमा सदैव रहेको पनि बताए । सभापति लामिछानेले मिटरब्याजको समस्यालाई राजनीतिकरण गर्नु नहुने बताउँदै पीडितहरुको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितहरुको समस्या समाधान गर्ने बताए ।
उनले सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टी र हामी तपाईहरुको साथमा छौँ, यसलाई राजनीतिकरण गर्नको लागि होइन, तपाईहरुको मुद्दामा टेकेर आफ्नो राजनीतिको रोटी सेक्न होइन, वास्तविक पीडितहरु हुनुहुन्छ भन्ने थाहा पाएपछि तपाईहरुलाई साथ दिनको लागि हामी आएका हौँ । हामी यसबाट लाभ लिन होइन, तपाईहरुको साथमा हामी छौँ । तल्लो वर्गको मानिसलाई जब प्राथमिकतामा राखिन्छ, तब मात्रै समस्या समाधान हुन्छ, मैले मन्त्री बनेर काम गर्दा यस्ता समस्यालाई पहिलो प्राथमिकतामा राखेको थियौँ । पहिलो प्राथमिकतामा गरिब, किसानलाई राखेपछि मात्रै यो समाधान हुन्छ ।’
मिटरब्याज पीडितहरुको बिरोध प्रदर्शनमा रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्याल पनि सहभागी भएका थिए ।