काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यममार्गको विकल्प अपनाउने बताएका छन् ।
शनिवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बैठकमा टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पती शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउने भन्ने बारेमा छलफल भएको बताए । उनले चैत्र २८ गते विज्ञहरुसँग बसेर यसको प्राविधिक पाटो पनि टुंग्याउने बताए ।
उनले भने, ‘सदन भित्रको टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पती शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउन छलफल भयो, सैद्धान्तिक रुपमा हामी सहमत नै छौँ । प्राविधिक पाटो भएकाले विज्ञहरु पनि बसेर २८ गतेको बैठकले टुंग्याउने कुरा भएको छ । हामी सरकारमा बसेकाहरुले फास्ट ट्रयाकबाट टुंग्याउने भनेका छौँ । प्रतिपक्षले समितिमा लैजाने कुरा छ, बीचको बाटो खोज्ने भन्ने पनि छ ।’
प्रधानमन्त्री दाहालले सरकार पक्षधर राजनीतिक दलहरुले भने संक्रमणकालीन न्याय सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट नै टुंग्याने पक्षमा रहेको बताए ।