काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा योग तथा ध्यान शिविर संचालन गर्ने घोषणा गरेका छन् ।योग र ध्यानले सही ढंगले काम अघि बढाउन मद्दत गर्ने भन्दै उनले गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायहरुमा त्यसलाई संचालनमा ल्याउने र नियमित गर्नका लागि पहल गर्ने बताएका हुन् ।
श्रद्धेय धम्मवती गुरुमाँ विशेष सामूहिक धम्मपूजा आयोजक समितिले शुक्रबार काठमाडाैँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले ध्यान र योगले फाईदा गर्ने भएकाले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललगातका नेताहरुलाई पनि केही समय यसलाई दिन भन्ने गरेको बताए ।
आफूमा योग र ध्यानको आशक्ति रहेको र दुई पटक त्यसका लागि आफू २० दिन ध्यानमा बसेको उनले स्मरण गराए । उपप्रधानमन्त्री श्रेष्ठले यस अघि आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रुपमा त्यहाँ पनि योग तथा ध्यान शिविर संचालन गर्न खोजेको तर समय अभावका कारण त्यसलाई लागू गर्न असमर्थ भएको समेत बताए ।
उनले भने, ‘सार्वजनिक पदधारण गरेका व्यक्तिहरुले ध्यान गर्नु अनिवार्य छ भन्छु म । मैले पार्टीको बैठकमा हाम्रो अहिलेको प्रधानमन्त्री, श्रद्धेय अध्यक्षलाई, एउटै पार्टीमा हुँदा बाबुरामजीलगायत सबैलाई भन्ने गर्थेँ–कमसेकम थोरै समय ध्यानलाई दिऊ । हामीलाई मद्दत नै गर्छ त्यसले । सही ढंगले काम अघि बढाउनका लागि यसले मद्दत नै गर्छ । म आफैं ध्यानमा बसेको छु दुई पटक । अहिले पनि ध्यानका कुनै केन्द्रहरुमा मेरो आशक्ति छ । र, मैले यस भन्दा अगाडि झण्डै ३ महिना मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा त्यहाँ योग र ध्यानको शिविरहरु मन्त्रालय भित्रै चलाउने भनेर प्लान बनाएको थिए । त्यो लागू गर्न पाईन । अहिले म गृह मन्त्रालयमा छु । गृह मन्त्रालयमा, नेपाल प्रहरीमा, सशष्त्र प्रहरी बलमा र अन्य प्रशासनिक संयन्त्रमा योग र ध्यानको शिविर संचालन गरेर यसलाई नियमित गर्ने पहलकदमी लिनेछु । ’
उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकालाई सिंहदरवार, शीतल निवास र बालुवाटारको फोहोर उठाउदिन भन्न नमिल्ने बताए । कुनै एउटा सन्दर्भलाई लिएर काठमाडांै महानगरपालिका मेयर बालेन साहले भनेको प्रसंगलाई उधृत गर्दै उनले त्यसो भन्न मिल्छ कि मिल्दैन ? भनेर सोची दिन पनि आग्रह गरे ।
उनले भने, ‘म काठमाडौं महानगरपालिकाको उपमेयरज्यूले जुन सत्वचत यहाँ बोल्नु भो । त्यो सद्बचनले एउटा कुरा गरोस् भन्ने कामना पनि गर्न चाहन्छु । त्यस्तो सत्बचन भएको, सत्यको पक्षपाती हुनु भएका उपमेयर हुुनु भएका काठमाडौं महानगरपालिकाले कुनै एउटा सन्दर्भलाई लिएर सिंहदरबारको फोहोर नउठाउने, राष्ट्रपति कार्यालयको फोहोर उठाउदिन, बालुवाटारको फोहोर उठाउदिन भन्न मिल्ला नि नमिल्ला ? एकचोटी यसो यहाँ (छाती)मा हात राखेर सोच दिनु भए धेरै गुण लाग्थ्यो । त्यतातिर पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।’
उपप्रधानमन्त्री श्रेष्ठले फोहोरी राजनीतिलाई सफा गरेर देशलाई बनाउनुपर्ने दोहो¥याए । उनले आफू सन्यासी भएको पनि त्यस अवसरमा उल्लेख गरेका थिए ।