काठमाडौं ।
हिनताबोध त्यागेर शक्तिलाई केन्द्रित गर्नसके सफल बन्न सकिन्छ
नेपालको पहिचानलाई विश्वमाझ पुर्याउन सगरमाथा आरोहण
शारीरिक अशक्त भएकाहरुको आत्मबल बढाउन सगरमाथा आरोहण
फरक क्षमता भएकालाई दया माया होइन, अवसर दिनुपर्छ ।
संसारमा गर्न नसकिने कुरा केही छैन तर आत्मबल र आत्मविश्वास भने अवश्य चाहिन्छ । आत्मविश्वास र आत्मबलका पर्याय छन् हरि बुढामगर । पूर्व गोरखा सैनिक समेत रहेका उनका दुवै खुट्टा छैनन् । अहिले उनि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आधार शिविर गइसकेका छन् । बेलायती सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै खुट्टा गुमाएका थिए । शारीरिक अशक्तता भएर पनि बुढा मगर सगरमाथा आरोहण गर्ने उत्कट चाहना पूरा गर्न सगरमाथा आरोहणका लागि तयार छन् । विभिन्न खेलमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा समेत विजय प्राप्त गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुलेका मगरले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपालको पहिचानलाई विश्वमाझ पु¥याउनका लागि सगरमाथाको आरोहण गर्न लागेको बताए । उनले आफूले सगरमाथा आरोहणमार्फ् विश्व कीर्तिमान राख्न चाहेको बताए । उनले दुवै खुट्टा नभएका व्यक्तिले हालसम्म सगरमाथा आरोहण नगरेको भन्दै आफ्नो आरोहणले विश्व कीर्तिमान राख्ने र आम मानिसहरुलाई गौरवान्वित बनाउने बताए ।
उनले भने – ‘हामी अपाङ्ग व्यक्ति पनि मेरो खुट्टा कमजोरी होला । कसैको हात कमजोरी होला । कसैको आँखा कमजोरी होला । त्यो भन्दैमा हामी केही गर्न सक्दैनौँ भन्ने कुरा होइन क्या । सबैको कमजोरी छ । सपाङ्ग व्यक्तिको पनि कुनै न कुनै आफैँ कमजोरी होला । विद्यार्थीहरु पनि कोही गणितमा कमजोरी होला, कोही अंग्रेजीमा कमजोरी होला । म एसएलसीमा फेल भएर मौका परीक्षा दिएको मान्छे । कुनै न कुनै कुरामा हाम्रो कमजोरी छ । त्यो भन्दैमा हाम्रो स्ट्रेन्थलाई फोकस गर्नुपर्छ । हामी अपाङ्ग व्यक्तिहरु पनि एउटा सफल जिन्दगी, अर्थपूर्ण जिन्दगी बिताउन सक्छौँ । त्यो एउटा सन्देश दिलाउनु हो । त्यसको साथसाथै सगरमाथा आरोहणको मुख्य सन्देश एउटा विश्व कीर्तिमान हुन्छ । जसले नेपाल र नेपालीलाई गौरवान्वित बनाउँछ जस्तो लाग्छ । नेपालीहरुको स्प्रिट देखाउँछ जस्तो लाग्छ मलाई । आशा छ यसले कुनै न कुनै व्यक्तिहरुलाई कुर्सिबाट उठेर एक, दुई पाइला मात्र हिँड्न लाग्यो भने जिन्दगीमा पाइला मात्र अगाडी सार्न प्रेरणा दियो भने म एकदम खुशी हुनेछु । उनीहरुको आफ्नै सगरमाथा होला, कसैलाई व्यापारिक सगरमाथा होला, कसैलाई जागिरको सगरमाथा होला । कसैलाई विवाह गर्नेको सगरमाथा होला । कसैलाई बच्चा जन्माउने सगरमाथा होला । कसैलाई कुनै न कुनै जिन्दगी सुधारको सगरमाथा होला । त्यसलाई मैले सानो प्रेरणा दिन पाए भनेपनि मेरो लागि ठूलो उपलब्धि हुनेछ । मैले नेपाल र संसारलाई म आरोहणमार्फत सर्भिस दिन चाहन्छु । मेरो मुख्य उद्देश्य नै त्यो हो । मेरा उद्देश्यमध्ये यो एउटा चिज हो । सगरमाथा मेरो अन्तिम चिज होइन । सगरमाथा हाम्रो देशमा छ । म सानैदेखि प्रेरित भएको हो यो सगरमाथा सम्बन्धी ।’
उनले हरेक मानिससँग केही न केही कमजोरी भएपनि जीवनमा केही गर्न नसक्ने भन्ने नहुने बताए । उनले हिनताबोध त्यागेर आफ्नो शक्तिलाई केन्द्रित गर्नसके जस्तोसुकै सफलता पनि हात पर्ने बताए । उनले आफ्नो सगरमाथा आरोहणले जिवनको कुनै न कुनै सगरमाथा चढिरहेका आम मानिसहरुलाई प्रेरणा दिने उनको भनाई छ । सगरमाथा नेपालको पहिचान र शिर भएको भन्दै यसको प्रचारलाई अझ व्यापक बनाउन आफ्नो योगदान रहने उनले उल्लेख गरे । उनले आफ्नो सम्पूर्ण बाल्यकाल देशमै बितेको उल्लेख गर्दै देशलाई पनि केही दिनुपर्छ भन्ने मनशायका साथ सगरमाथा आरोहण गर्न लागिएको बताए ।
उनले भने– ‘सगरमाथा म १९ वर्षसम्म यहीँ जन्मिएको । यहीँ हुर्किएको । विदेशमा जाँदा, काम गरिराख्दा कुनै न कुनै मनको कुनामा चाहीँ के लाग्छ भने म १५ वर्षसम्म ब्रिटिस सरकारको लागि काम गरेँ । मेरो दुईवटा खुट्टा पनि दिएँ । मेरो अरु समय दिएँ । मेरो आधा युवावस्था दिएँ । तर मैले मेरो देशलाई के दिएँ त ? भन्ने कुरा जहिल्यै पनि मनमा परिराख्ने । मैले सर्भिस गर्दापनि जहिल्यैपनि हामीलाई परिराख्थ्यो । देशलाई कसरी पब्लिक सेवा दिन सकिन्छ भन्ने मैले सोचिराखेको थिएँ । त्यो गर्दाखेरी म आफैँ अपाङ्ग भएर, आफैँ संघर्षशिल भएको कारणले यसको सेचतना कत्तिको जरुरी छ, भनेर मैले बुझेको छु । सचेतना अपाङ्ग भएको व्यक्तिलाई मात्र जरुरी छैन । उसलाई साथ दिने परिवारलाई पनि कसरी सहयोग गर्नुपर्छ भन्ने एउटा सचेतना जरुरी छ । सरकारलाई पनि यिनीहरुलाई कसरी सहयोग गर्नुपर्छ भन्ने कुरा जरुरी छ ।’
तत्कालिन रोल्पा निरुल गा.विस. हालको थवाङ गाउँपालिकामा जन्मिनुभएका बुढामगरले आफ्नो जीवनको बाल्यकाल १९ वर्षसम्म रोल्पामै बिताए । कक्षा ५ सम्मको प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा पढ्नुभएको उहाँले कक्षा ६ र ७ मा रोल्पाकै कोर्चवाङमा पढ्ेका हुन् । त्यसपछि सदरमुकामबाट एसएलसी परीक्षा उत्तिर्ण गर्नुभएको उहाँ बुबाको सपना बमोजिम १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भए । उनले बुबाको सपना पूरा गर्न र अग्रजहरुलाई देखेर पनि बेलायती सेनामा भर्र्ती भएको बताए ।
तत्पश्चात १५ वर्षसम्म विश्वका विभिन्न देशहरुमा शान्ति स्थापना र विभिन्न सैन्य मोर्चाहरुमा सामेल हुनुभएको उहाँको सन् २०१० मा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमेको थियो । त्यसपछिको दुई वर्ष उनि २ वर्ष रक्सीको कुलतमा परेको र आत्महत्या गर्ने सोच समेत पलाएको उनि उल्लेख गर्छन् । स्की, कायाकिङ, ह्वीलचेयर टेबल टेनिस, आर्चरी, इम्पिटि फुलबल, सिटिङ भलिबल लगायतका खेलमा विभिन्न मेडलसमेत जित्नुभएको उहाँ दृढ इच्छाशक्ति भएमा सबै खालका गतिविधि गर्न सकिने बताउँछन् ।
उनि अपाङ्गता भएका व्यक्तिहरुप्रति समाजले हेर्ने धारणामा परिवर्तन हुनुपर्नेमा जोड दिन्छन् । परिवारले समेत अपाङ्गता भएका परिवारका सदस्यलाई बाहिर निस्किने वातावरण नबनाइदिने भन्दै त्यसो गर्नु नहुने उनको भनाई छ । अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरुलाई समस्या परिरहेको भन्दै उहाँले सबै संरचनाहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिए । सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गरेर आत्मनिर्भर बनाउनुपर्ने उनले बताए । उनीहरुलाई राज्यले दया, माया होइन अवसर दिनुपर्नेमा उनले जोड दिए ।
उनले भने – ‘नेपाल सरकारले के गर्नुपर्छ भने कसरी अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गरेर, आत्मनिर्भर बनाएर जति पनि काम गर्न सक्नुहुन्छ, उहाँहरुलाई सामान्य नागरिकलाई जस्तो ट्रिट गर्नुप¥यो । सहयोग गर्नुपर्छ ता कि उनीहरुले पनि काम गर्न सकुन् । व्यापार गर्न सकुन् । उनीहरुले पनि आफूले मनले चाहेको जे छ त्यो गर्न सकुन् न । उनीहरुलाई आत्मनिर्भरतामा सहयोग गर्नसक्यो भने देशको आर्थिक स्थितिको विकासमा फड्को मार्छ । अपाङ्गता भएका व्यक्तिहरुलाई धेरै दया, माया भन्दा पनि अवसर दिनुपर्छ ।’
केही दिनमै सगरमाथा आरोहणको लागि यात्रा तय गर्न लाग्नुभएका बुढामगरले सरकार समक्ष सहयोग गर्न नसकेपनि बाधा, अड्चन नबनाइदिन आग्रह गरेका छन् । यसअघि पनि उनले बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन् । उनले २०१७ मा मेरा चुचुरो आरोहण गर्नुभएको थियो र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बने । उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो । यसअघि पनि उनि सगरमाथाको आधारशिविरसम्म पुगिसकका छन् ।