काठमाडौँ । नेपालको परम्परादेखि पारिवारिक पुस्तान्तरण हुँदै आएको रैथाने ज्ञान, सीप र कलालाई प्रविधिसँग जोडेर समृद्ध बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
नेपालमा परम्परागत चित्रकला, हस्तकला, मूर्तिकला, आभूषणकला, काष्ठकला, हातहतियारसम्बन्धीका कलाहरु छन् । ती कलाहरु स्थानीयस्तरमा निर्माण भइरहेका र कतिपय कलाहरु लोपोन्मुख अवस्थामा रहेकाले यस्ता रैथाने शिल्पको संरक्षण जरुरी हुन्छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको हस्तकला विभागद्वारा आज काठमाडौँमा आयोजित ‘शिल्पकला शिक्षाको महत्व’ विषयक अन्तरक्रियामा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिल्प कलालाई सिर्जना, शिक्षा र प्रविधि तथा उद्यमशीलतासँग जोड्नुपर्ने बताए ।
उनले रैथाने ज्ञानलाई प्रविधिसँग जोडेर लैजान सके त्यसले सकारात्मक परिणाम दिने प्रतिक्रिया दिए। कुलपति हार्तम्छालीले हाम्रा परम्परागत र रैथाने ज्ञानलाई पुस्तान्तरण गर्न जरुरी भएको र रैथाने ज्ञान र सीपलाई पाठ्यक्रममार्फत अध्ययनको विषयमा बनाउन जरुरी रहेको बताए ।
कार्यक्रमा काठमाडौँ विश्वविद्यायका उपकुलपति प्राडा भोला थापाले कला र इन्जिनियरिङलाई जोड्न जरुरी भएको बताए। ‘नेपालमा सम्पदा छन् ती सबै इन्जिनियरिङ भएको र अब त्यसलाई शैक्षिक कार्यक्रमसँग जोडेर अझै पहिचानयोग्य बनाउनुपर्छ’, उनले भने ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले रैथाने कलालाई अझ कसरी सम्मानित गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको बताए। प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रदीप शाक्य शिल्प भनेको विज्ञानसँगको सौन्दर्यको मिश्रण भएकाले सीप भएका कलाकार ओझेल नपरोस् भन्नका लागि शिल्पकलाको शिक्षालाई दीगो विकाससँग जोड्न जरुरी रहेको बताउँछन्।
छलफलामा काठमाडौँ विश्वविद्यालयका एसोसियट डिन सुजन चित्रकारले नेपालमा कला, साहित्य, संस्कृतिको क्षेत्रमा सरकारले धेरै सहयोग गर्न नसकेको भन्दै चिन्ता प्रकट गरे। उनले काठमाडौँ विश्वविद्यालयले अघि बढाएको ‘क्राफ्ट एन्ड डिजाइन’ विषय चुनौतीपूर्ण भएको पनि बताए ।
नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा शिल्पसम्बन्धी विधा परापूर्वकालदेखि नै भएको बताउँदै यसमा अध्ययनै नपुगेको गुनासो गरे। ज्वेलरी स्कुल नेपालका अध्यक्ष मोहन विश्वकर्माले नेपाल संसारभरीबाट मौलिक कला संस्कृति हेर्न आउने खुल्ला विश्वविद्यालय भएको बताउँदै घर–घर, बस्ती–बस्तीमा यससम्बन्धी शिक्षा राख्नुपर्नेमा जोड दिए।
कलाकार माणिकमान शाक्यले भने, ‘हामी काम गर्छौँ, पैसा लिन्छौँ, तर काम गरेको प्रमाण हुँदैन् । शिल्प शिक्षाको काम अघि बढाइयो भने पुस्ता हस्तान्तरणको काम पनि अघि बढ्छ र कलाकारको पनि पहिचान हुन्छ ।’ प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले शिल्प शिक्षाका सम्बन्धमा स्थानीय निकायहरुसँग जोडिएर पाठ्यक्रम बनाउन सकेमा अझ महत्वपूर्ण कार्य हुने धारणा राखे ।