काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई नयाँ आशा र विश्वास दिने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा (एकीकृत समाजवादी)ले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री दाहालले अहिले आफूहरु सरकारको नीति, कार्यक्रम र बजेट निर्माणको छलफलमा घनिभूत ढंगले लागि परेको उल्लेख गर्दै त्यसले देश र जनतालाई नयाँ आशा र भरोसा दिने दावी समेत गरे । उनले आफूले छिट्टै भारत भ्रमण गर्ने भएकाले त्यसको राम्रो तयारी पनि गरिरहेको बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘हामी अहिले सरकारको नीति, कार्यक्रम र बजेट निर्माणमा घनिभूत ढंगले जुटिराखेका पनि छौं । जुटन आवश्यक पनि छ । यो नीति, कार्यक्रम र बजेटले देशलाई नयाँ आशा, नयाँ विश्वास दिनुछ एकातिर भने अहिलेनै हामी फेरी विदेश भ्रमणको पनि प्रक्रिया सुरु हुँदैछ । त्यसको पनि राम्रो तयारी गरेर जानुछ ।’
प्रधानमन्त्री दाहालले देश र जनताको हितमा काम गर्न लागि देशभक्त, क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच एकता गरेर जानुको विकल्प नरहेको पनि बताए ।