logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • अझै फर्किएन भैरहवामा फुटबलको रौनक

    अझै फर्किएन भैरहवामा फुटबलको रौनक

    1.8K
    Shares
    अझै फर्किएन भैरहवामा फुटबलको रौनक

    भैरहवा । तीन वर्ष पहिला भैरहवाको खेल माहोल ‘महात्मा बुद्ध गोल्डकप’ आयोजना हुने खबरले तातिएको थियो । फुटबल खेलाडी मात्र हैन यस क्षेत्रका खेलप्रेमीहरु पनि भैरहवामा फेरि फुटबल आयोजना हुने खबरले मात्र पुलकित भएका थिए । विसं २०७६ को चैत पहिलो साता भैरहवामा ‘महात्मा बुद्ध गोल्डकप’ हुने सबै तयारी पूरा भएको थियो ।

    बीस वर्षपछि बल्ल हुन लागेको फुटबल प्रतियोगिता हेर्न पाउने भैरहवा तथा यस आसपासका खेलप्रेमीको आशा त्यतिबेला कोभिडको पहिलो लहरले नराम्ररी जिल्यायो । त्यसयता पनि प्रतियोगिताको पखाईमा रहेका स्थानीयवासी तत्काललाई प्रतियोगिता हुने कुनै सम्भावना देख्दैनन् ।
    विसं २०४० पछि भैरहवामा फुटबलको बेग्लै माहोल थियो । भैरहवामा त्यसबेला हुने ‘महात्मा बुद्ध गोल्डकप’ जसले यस क्षेत्रमा फुटबलको रङ भथ्र्यो । स्थानीय टोली त छँदैछ, भारतका विभिन्न स्थानबाट पनि भैरहवासम्म फुटबल खेल्न टोली आउँथे ।

    भैरहवाका किसन थापा महात्मा बुद्ध गोल्डकपका साक्षी हुन्। थापासँग २०४० सालदेखि नै गोल्डकपको अनुभव छ । विभिन्न टोलीको प्रतिनिधित्व गर्दै थापाले गोल्डकप खेलेका छन्। विसं २०३८ मा स्थानीय युवाले अञ्चलपुर युवा क्लब गठन गरी प्रतियोगिता सुरु गरे पनि यसलाई औपचरिकरुपमा विसं २०४२ मा तत्कालीन नगर पञ्चायतले अपनत्व ग्रहण गरेको थियो । त्यतिबेला महात्मा बुद्ध गोल्डकप स्थानीय जनप्रतिनिधि हुन्जेल सञ्चालनमा रहेको थियो । पछिल्लोपटक उनले विसं २०५५ मा जम्मुको गोर्खा ब्रिगेडबाट महात्मा बुद्ध गोल्डकप खेलेका थिए। त्यसपछि उनले प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएनन् ।

    थापा भारतमा फौजी थिए। गोल्डकप भन्नासाथ उतैबाट फौजी भेला पारेर टिम बनाउँथे। गोल्डकपको अवधिभर भैरहवा बस्थे, प्रतियोगिता खेल्थे र फर्किन्थे। विसं २०५५ पछि प्रतियोगिता नहुँदा उनी भारत केन्द्रित भए । उतै फुटबलमा व्यस्त बने । फुटबल खेल्न भनेपछि हुरुक्कै हुने थापालाई प्रतियोगिता बन्द भएपछि मनमा चिसो पस्यो । ‘मन दुख्यो’, थापाले भने, ‘तत्कालीन समयमा जुर्मुराउँदो प्रतियोगिता बन्द भएपछि नरमाइलो भयो । महात्मा बुद्ध गोल्डकप जिल्लाकै गौरव थियो ।’

    भैरहवा र आसपासका क्षेत्रमा फुटबल निरन्तर ओरालो लाग्दै गएको छ । त्यसपछि लामो समय उनी जागिरको सिलसिलामा भारतमै बसे । भारतमै हुने फाट्टफुट्ट प्रतियोगितामा सहभागिता जनाए। भारतीय सेवाबाट अवकास पाएर उनी अहिले स्वदेश फर्किएका छन् । फुटबलप्रतिको थापाको चासो सेलाएको छैन तर फुटबल गतिविधि ठप्प हुँदा उनी चिन्तित छन्।

    त्यतिबेला खेलाडीमा मात्र होइन, दर्शकमा पनि फुटबलप्रतिको चाख निकै थियो । ‘हामीले जुत्ताको अभावमा खाली खुट्टा नै फुटबल खेल्थ्यौँ, अहिलेको जस्तो टिसर्ट र र हाफपाइन्ट लगाएर फुटबल खेल्ने अवसर पनि मिल्दैनथ्यो’, थापाले अनुभव सुनाए। त्यतिबेला भैरहवाको लालीगुराँस क्लब नेपालकै प्रसिद्ध टोली थियो । उनी भन्छन्, ‘लालीगुराँससँग प्रतिस्पर्धा गर्न तत्कालीन समयमा काठमाडौँ थर्काएर बसेका क्लब पनि अनकनाउथे । उनीहरुलाई खेल्न बोलाउन काठमाडौँका क्लब भैरहवा पुग्थे ।’

    देशभरि फुटबल परिवर्तन हुँदै जाँदा भैरहवाले भने त्यसअनुसार आफूलाई परिवर्तन गर्न सकेको छैन । विसं २०५५ पछि यहाँ कुनै स्तरीय प्रतियोगिता हुन सकेको छैन । अहिले फुटबलको अवस्था फेरिएको छ । अहिले बलभन्दा पनि कौशलपूर्ण खेलको जमाना छ । थापाको पालामा हिलाम्मे मैदानमा पनि बल गरेर फुटबल खेल्ने चलन थियो । फुटबल खेल्नेले बलियो हुनुपर्छ, दौडनुपर्छ भन्ने मात्र हुन्थ्यो । तर आजभोलि दर्शकले बल र बुद्धि दुवै भएको खेलाडीलाई मन पराउन थालेका छन् ।

    बन्द भएको २२ वर्षपछि फेरि भैरहवामा फुटबलको चर्चा सुरु भएको थियो । महात्मा बुद्ध गोल्डकप फेरि फर्किने तरखरमै थियो । विसं २०७६ मा तत्कालीन नगर प्रमुख हरिप्रसाद अधिकारीले २० लाख विनियोजन गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गराएका थिए। नगर प्रमुख अधिकारीले २० वर्षदेखि आयोजना हुन नसकेको प्रतियोगितालाई पुनःजीवन प्रदान गर्नुपर्छ भन्ने नगरपालिकाको धारणाअनुसार प्रतियोगिता सुरु गर्न लागिएको बताएका थिए। सङ्घीय प्रहरी एकाई कार्यालयको मैदान प्रतियोगिताका लागि तयार भएको थियो । तर त्यतिबेला प्रतियोगिता कोभिडले प्रभावित बन्यो ।

    प्रतियोगिता सुरु हुने खबरले किसन थापाजस्ता पाका फुटबल खेलाडी मात्र हैन फुटबलमै भविष्य देख्नेका लागि पनि आशाको सञ्चार गरेको थियो । फुटबलका माध्यमबाट नगरलाई चिनाएको फुटबल प्रतियोगिता पुनःसञ्चालनमा आउने भएपछि यस क्षेत्रका खेलप्रेमी खुसी थिए । तर यो खुसी धेरै दिन टिक्न सकेन ।

    विसं २०७६ मा बजेट छुट्याएर नै आयोजना हुन लागेको ‘महात्मा बुद्ध गोल्डकप’ त्यसयता बजेट पाउन सकेन । र इतिहासमा सीमित हुन पुगेको छ । खेलप्रेमीसमेत रहेकी सिद्धार्थनगर नगर पालिकाकी उपप्रमुख उमा अधिकारीका अनुसार ‘प्रतियोगिता साह्रै महँगो छ ।’ भैरहवा क्षेत्रमा एन्फाबाट मान्यता प्राप्त अमरज्योति क्लब, माछापुच्छ्रे क्लब, झरना स्पोर्टस् क्लब रहे पनि अहिले यी क्लबमा खेलाडी छैनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend