पोखरा । पोखराका पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच आपसी सहकार्यका विषयमा पोखरामा छलफल भएको छ । छलफलमा होटेल सङ्घ पोखरा नेपालका महासचिव राजेन्द्र ढकाल र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पोखराको पर्यटकीय अवस्थाका सम्बन्धमा जानकारी गराएका थिए ।
अमेरिकी नागरिक र अमेरिकी पर्यटकको सुरक्षाप्रति आफूहरू संवेदनशील रहेको सङ्घका महासचिव ढकालले बताए। विगतमा अमेरिकी दूतावाससँग सङ्घ नजिक रहेर काम गरेको र भविष्यमा पनि त्यस्तो सहकार्यप्रति आफूहरु आशावादी रहेको पन्थीले बताए। पछिल्लो समयमा नेपाल घुम्न आउने अमेरिकी पर्यटकको सङ्ख्या बढेको उनले जानकारी गराए ।
सुन्दर ताल, हिमाल र विविध संस्कृति यहाँको विशेषता रहेको बताउँदै उनले झण्डै चार दशकदेखि सङ्घले पर्यटकीय सेवासुविधालाई गुणस्तरीय बनाउनेतर्फ काम गर्दै आएको स्मरण गराए। यस क्षेत्रको होटल उद्योगमा मात्र पाँच खर्ब रुपैयाँ लगानी रहेको जानकारी गराउँदै पन्थीले रोजगारी सिर्जनासँगै राष्ट्रिय अर्थतन्त्रमा सहयोग गर्दै गरिबीको अन्त्य गर्ने उद्देश्य राखिएको बताए ।
कोभिड–१९ पछि पोखराको पर्यटन क्षेत्र पनि मारमा परेको बताउँदै उनले पर्यटकीय सेवा सुविधामा कुनै कमी नहुने गरी अप्ठ्यारो अवस्थामा पनि आफूहरूले सेवा गरिरहेको बताए। पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले सेवा सुरु गरिसकेको र पृथ्वी राजमार्गको स्तरोन्नति पनि केही अवधिमा सकिने उल्लेख गर्दै उनले पर्यटकीय पूर्वाधारका हिसाबले पोखरामा कुनै समस्या नभएको स्पष्ट पारे ।
पोखरामा अमेरिकाका ब्लगर, ट्राभल राइटर र पत्रकारलाई निमन्त्रणा गर्न र भ्रमण गराउनका लागि दूतावाससँग आवश्यक सहकार्य गर्न सङ्घ तयार रहेको उनले जानकारी गराए।
पोखराको पर्यटन क्षेत्रमा लगानीका लागि अहिलेको उपयुक्त समय भएको उल्लेख गर्दै उनले द्विपक्षीय व्यापारिक लाभका लागि सङ्घले आवश्यक भूमिका खेल्नसक्ने बताए। छलफलमा राजदूत थम्पसनले पदयात्रामा जाने पर्यटकका लागि पथप्रदर्शक अनिवार्य गरिएको विषयप्रति चासो व्यक्त गरेका थिए । राजदूतको चासोका सम्बन्धमा अध्यक्ष पन्थीले पर्यटकको सुरक्षाका लागि पथप्रदर्शको व्यवस्था गरिएको स्पष्ट पारे ।