कञ्चनपुर। कञ्चनपुरमा बेग्लाबेग्लै दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा एक जना र साईकलसँग मोटरसाईकल एकआपसमा ठोक्किदा एक गरि दुई जनाको ज्यान गएको हो ।
आइतबार साँझ कृष्णपुर नगरपालिका–५ स्थित बनदेवी मन्दिर नजिकको जङ्गलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा बेदकोट नगरपालिका–१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको हो ।
कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश डाँगीका अनुसार बडुवालले चलाएको सुदुरपश्चिम प्रदेश ०२-००-४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्यााक्टरको ट्रलीमा ठोक्किदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार कृष्णपुर–५ की २० वर्षिया गरिमा महता घाइते भएकी छिन्। उनको अवस्था सामान्य रहेको र ट्याक्टर चालक कृष्णपुर– ८ का ४२ वर्षीय वीरसिंह महरालाई ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै, आइतबार राति भीमदत्त नगरपालिका–४ स्थित उद्योग, वाणिज्य संघ नजिक मोटरसाइकलले ठक्कर दिँदा सोही नगरपालिका–४ गोबरैया बस्ने कांग्रेस क्षेत्रीय प्रतिनिधि महेश्वर भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भीमदत्त नगरपालिका–१८ निवासी वीरेन्द्र रावलले चलाएको म २ प ८३३३ नम्बरको मोटरसाइकलले साइकलमा सवार ६८ वर्षीय भट्टलाई राति करिब ८ बजेतिर ठक्कर दिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले घाइते भट्टको उपचारका क्रममा धनगढीस्थित अस्पतालमा मृत्यु भएको जानकारी दिए। निजामति सेवाबाट सेवानिवृत भएपछि राजनीतिसँगै महेन्द्रनगरको हाइवे रोडमा हार्डवेयरको पसल खोलेर व्यवसाय गरिरहेका भट्ट घर जाने बेला दुर्घटनामा परेका हुन् ।