काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्नता भएको देखिएपछि पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापाका विश्वास पात्र इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
निरजका बुवा इन्द्रजितलाई मंगलबार बिहान प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार निरज फरार छन् । उनी नेपालमा नरहेको प्रहरी स्रोतले बताएको छ।
द्वन्द्व विशेषज्ञ भनेर पनि चिनिने इन्द्रजित राई तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार थिए । राईले गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक–पटक गरी ५ करोड रकम लिएको पाइएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ गत चैत १२ गते पक्राउ परेका थिए ।