काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षका मोन्टी देशाईले एसिसि मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एशिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफूँ सन्तुष्ट रहेको बताएका छन् ।
मंगलवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्सबिरुद्धको खेलमा ७ विकेटको जित निकाल्दै एशिया कपमा स्थान बनाएसँगै खेलाडीको प्रदर्शनलाई प्रशंसा गर्दै सन्तुष्ट रहेको बताएका हुन् । मोन्टी देसाईले एशिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भएपनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आफूँ उत्साहित रहेको बताए । प्रशिक्षक देसाईले एशिया कप सम्मको यात्रा तय गर्न निकै मेहनत गरेको र टोली सम्हालिसकेपछि टोलीका सदस्यहरुले प्रमाणित गर्न निकै मेहनत गरेको बताए ।
भारतीय मुलका प्रशिक्षक देशाईको आगामन पछि नेपालले पछिल्लो समय ठूला प्रतियोगितामा राम्रो नतिजा निकालिरहेको छ । दुई महिनामा उत्कृष्ट लयमा रहेको नेपालले लगातार १० खेलमा जित हात पारेको छ । आइसिसी विश्वकप लिग–२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्वकप छनोटमा पुगेको थियो भने धरासायी भएको नेपालको एक दिवसीयमा नेपालले रोमाञ्चक सफलता हात पारेको थियो ।
यस्तै नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल बलिया राष्ट्रसँग बुहप्रतिक्षित प्रतियोगितामा खेल्न पाउनु नै नेपालका लागि मौका भएको बताए । उनले बलिया टोलीबिरुद्ध पनि राम्रो खेल्दै पछिल्लो समय हात पारेको नतिजालाई सन्तुलनमा ल्याउने बताए । एशिया कपमा नेपालले स्थान बनाउँदै गर्दा टोलीको मेहनत र प्रशिक्षकको भुमिका तारिफयोग्य रहेको समेत बताए । प्रशिक्षको योजना अनुसार खेल्दा टोलीले राम्रो नतिजा निकाल्न सफल भएको भन्दै कप्तान रोहितले एशिया कप नेपाली टोलीका लागि एक्सपोजर भएको बताए । अहिले एशियाकप आयोजना सम्बन्धमा धेरै विषय उठिरहेको अवस्थामा जुन कुनै स्थलमा भएपनि एशिया कप हुनुपर्ने बताए ।
यता फाइनल खेलमा युएईबिरुद्ध सम्हालिएको प्रदर्शन गर्दै नेपालको जित सम्भव बनाएका गुल्शन झाले योजना अनुसार ब्याटिङ गर्न क्रिजमा पुगेको र प्रशिक्षकको योजना अनुसार खेल्दा नतिजा निकाल्न सफल भएको प्रतिक्रिया दिए । गुल्सन झा तेस्रो नम्बरमा ब्याटिङ गर्दै धरासायी बनेको नेपालको इनिङलाई भीम सार्कीसँग साझेदारी गरेका थिए । उनले करियरकै उत्कृष्ट ब्याटिङ गरे । गुल्सन फाइनल खेलको प्लेयर अफ दि म्याच पनि घोषित भए । अविजित रहँदै नेपाललाई उपाधि दिलाएपछि बोल्दै गुल्सनले प्रशिक्षकले दिएको भूमिकालाई निर्वाह गरेको बताए ।
उता प्रतियोगिताको सिरिजका उत्कृष्ट खेलाडी बनेका सन्दीप लामिछानेले नेपाली टोली यहाँसम्म आइपुग्न खेलाडीको अथक मेहनत र प्रशिक्षकको भूमिका निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । नेपालले एशिया कपमा स्थान बनाएसँगै बलिया टोलीसँग खेल्ने मौका अवसर आएको बताए । नेपाली टोली अर्को श्रेणिमा उक्लिएको भन्दै कहिल्यै नखेलका टोलीसँग नेपालले एक्स्पोजर पाउने मौका एशिया कप रहेको बताए । नेपाली टोलीलाई प्रतिकुल मौसममा पनि साथ दिएको र दर्शकको साथबाट नै घरेलु मैदानमा पाहुना टोलीबिरुद्ध जित निकाल्न निकै सहज भएको समेत लामिछानेले बताए ।
यस्तै पराजित टोली युएईका कप्तान मोहम्मद वासिमले नेपालबिरुद्धको खेलमा भाग्यले साथ नदिएको र गुल्सनको उत्कृष्ट खेलका कारण नतिजा गुमाउनु परेको बताए । उनले शुरुवात राम्रो भएपनि मध्यक्रमका नेपाली ब्याटरले सम्हालिएको प्रदर्शन गर्दा नतिजा गुमाउनु परेको बताए । उनले योगफल झिनो भएकाले अपेक्षा अनुसार खेल हुन नसकेको समेत बताए ।
नेपालमा सम्पन्न एसिसि मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालसहित १० टोलीले सहभागिता जनाएका थिए । आयोजक एसिसिले सहभागि राष्ट्रलाई दुई समूहमा विभाजन गर्दै खेलाएको थियो । जसबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गरेका थिए । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना भएका हुन् । यससँगै मुलपानी क्रिकेट मैदानले एक दिवसीय मान्यता पाउँदा नेपालले एक खेल कतारसँग मुलपानी क्रिकेट मैदानमा खेल्ने अवसर पाएपनि वर्षाले अवरुद्ध भएको थियो ।