काठमाडौं। शहिद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज र हिमालयन शेर्पा क्लबले रोमाञ्चक जित निकालेका छन् ।
दशरथ रंगशालामा बुधबार भएको खेलमा चर्च ब्वाइजले फ्रेन्ड्सलाई २–१ गोलले हरायो । च्यासल मैदानमा भएको खेलमा हिमालयन शेर्पाले सातदोबाटो युथ क्लबलाई १–० गोलले स्तब्ध बनायो ।
पहिलो हाफमा १–० गोलले पछि परेको चर्च ब्वाइजले दोस्रो हाफमा दुई गोल गर्दै पुनरागमन जित निकालेको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्ट र आशिष चापागाईंले गोल गरे। फ्रेन्ड्सका बेन क्वान्साको सुरुवाती गोल सन्त्वना बन्यो ।
प्रतिस्पर्धात्मक खेलमा फ्रेन्ड्सले १४औं मिनेटमा बेनको हेड गोलमा खाता खोलेको थियो । त्यसपछि ८७औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गदै खेललाई बराबरीमा कायम गरे ।
डिबक्सभित्र रन्जित सिंह पान्द्रेलाई बेन क्वान्स र प्रेमबहादुर भण्डारीले फल हानेपछि चर्च ब्वाइजले पेनाल्टी पाएको थियो । इनजुरी समयमा आशिष चापागाईंले गोल गर्दै चर्च ब्वाइजलाई रोमाञ्चक जित दिलाए ।
जितसँगै १४ खेलबाट २४ अङ्क बनाएको चर्च ब्वाइज दोस्रो स्थानमा उक्लिएको छ । पराजित फ्रेन्ड्स १५ अङ्कसहित १३औं स्थनमा छ ।
यसैगरी हिमालयन शेर्पालाई जिताउन खामिर गिल्सनले निर्णायक गोल गरे। गिल्सनले ६५औं मिनेटमा गरेको गोल हिमालयन शेर्पाको जितमा प्रयाप्त बनेको थियो । लिगमा हिमालयन शेर्पाको यो चौथो जित हो ।
जितसँगै १४ खेलबाट १७ अङ्क बनाएको गोल शेर्पा आठौं स्थानमा उक्लिएको छ । समान खेलबाट २२ अङ्क बनाएको सातदोबाटो चौथो स्थानमा छ ।
डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालित लिगमा ‘ए’ डिभिजनका १४ क्लकको सहभागिता रहेको छ । लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
यस्तै ‘फेयर प्ले अवार्ड’ पाउने टोली र सर्वोत्कृष्ट खेलाडीलाई तीन तीन लाख, उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही दुई लाख र उदयीमान खेलाडीलाई एक लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।